बैशाख १२, २०८१ बुधबार

टेरियाको स्वागतमा सिडिओदेखि एलडिओसम्म



teriya-magar

काठमाडौं- भारतीय टिभी च्यानलमा ‘झलक दिखला जा’को उपाधि प्राप्त गर्न सफल रुपन्देही रुद्रपुरकी टेरिया फौजामगरलाई मङ्गलबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ। टेरिया मगर फाउन्डेसनले बुटवलमा गरेको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अघिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, स्थानीयबासी लगायतले उनको सम्मान गरेका हुन्।

बुटवलको बागेश्वरी सङ्गीतालयमा नृत्य कक्षा सुरुवात गरेकी टेरियाले सन् २०१४ मा भारतीय च्यानल जी टिभीबाट प्रसारण हुने ‘डान्स इन्डिया डान्स’को लिटिल मास्टर्स प्रतियोगितामा प्रथम भएकी थिइन्। उनले हालै मात्र कलर्स टिभीबाट प्रसारण भएको ‘झलक दिखला जा’ को उपाधि समेत प्राप्त गरेकी थिइन्।

फाउन्डेसनका अध्यक्ष कृष्णबहादुर फौजामगरले टेरियाले उपाधि जित्दा स्वदेश तथा विदेशबाट नेपाली दाजुभाइ दिदीबहिनीले एसएमएस र अनलाइन भोट गरेर गरेको सहयोगप्रति आभार व्यक्त गरे।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नेपाल र नेपालीको इज्जत विदेशी भूमिमा पुगेर राखेको भन्दै कृतज्ञता व्यक्त गरे। उनले टेरियाको जित सबै नेपालीको गर्व र उपलब्धि रहेको धारणा राखे। ‘नेपाली परम्पराका नृत्य विश्वसामु चिनाऔं’ उनले भने।

स्थानीय विकास अधिकारी युवराज सुवेदीले टेरिया फाउन्डेसनसँग आवश्यक परे सहकार्य गरेर अगाडि बढ्न सकिने जानकारी दिए। ‘जिविससित के आवश्यक पर्छ भन्नुहोला’ उनले भने ‘हामीबाट सक्दो सहयोग हुनेछ।’ उनको भनाइमा रुपन्देहीका जिल्ला अधिकारी टेकबहादुर थापाले पनि सहमति जनाए। ‘जिल्ला शिक्षा कार्यालय खुला दिलले सहयोग गर्न तत्पर छ’ थापाले पनि भने। रासस

teriya-magar