बैशाख २, २०८१ आईतबार

राजनीतिमा महिला फड्को



Ladies_politics

काठमाडौं – रन्जु दर्शना विद्यालय पढ्दादेखि नै बेला बेलामा हुने बन्द हडतालले वाक्क थिइन्। भानुभक्त स्कुलमा पढ्दा बन्दको बेला विद्यालय खुलेको छ/छैन भनेर पालेदाईलाई फोन गर्दा, फोन उठ्दैन थियो। त्यसपछि समाचार हेर्न टेलिभिजन खोल्दा त्यहाँ देखाइने नेताहरुकै फोटो भोलिपल्ट पत्रिकामा छापिएका हुन्थे।

ती मानिस जताततै यसरी छाउनुको रहस्य बुझ्न रन्जुले उनीहरुका बारे लेखिएका कुरा पढिन्, बुझे पनि नबुझे पनि उनीहरुले गरेका भाषण सुन्न थालिन्। यसले उनमा विस्तारै राजनीति मोह जगाउँदै लग्यो।

दोस्रो संविधानसभामा आफूले पनि मताधिकार पाइसकेकाले उनी कसलाई भोट हाल्ने बारे सोचिरहेकी थिइन्। एक दिन बिवेकशिल नेपाली पार्टीको हँसिलो मुहार भएको सेतो कार्ड उनले बाटोमा भेटाइन्। त्यसको बारेमा बुझ्न फेसबुकमा खोजिन्। पार्टिमा आवद्ध ब्यक्तिलाई सम्पर्क गरेर उनीहरुसँगको भेटघाटपछि उनलाई नेपाललाई माया गर्ने आफ्नै परिवारका सदस्यलाई भेटे जस्तै लाग्यो।

भर्खर १२ कक्षाको पढाई सकेर बसेकी छोरी दिनभरी हराउँदा परिवारमा उनको सोधी खोजी हुन थाल्यो। चुनावी अभियानमा हिँड्दा ‘भत्ता कति दिन्छन् नि’ भनेर समेत उनलाई धेरैले सोधे। उनी आफूलाई दिइएको पकेट खर्च जोगाएर त्यसैबाट अभियानमा सक्रिय भइन्।

पार्टीले गरेको नेपाल खुल्ला छ, संविधान खोइ सरकार ? लगायतका अभियानमा पनि उनी सहभागी भइन्। तिनै कार्यक्रमका समाचार टेलिभिजन र पत्रपत्रिकामा आउँदा ब्यानर बोकेर अगाडिको पंक्तिमा उभिएकी छोरीलाई देखेपछि बल्ल परिवारले उनको काममा विश्वास गर्न थाल्यो।

एकल आमासँग हुर्किएकी रन्जु पढाईलाई पनि उत्तिकै महत्व दिन्छन्। टिउसन पढाएर अरुलाई पनि शिक्षित बनाउन लागि परेकी छिन्। त्यसबाट भएको आयले खर्च चलाउँछिन्। हाल बालुवाटारस्थित नेसनल कलेजमा डेभेलप्मेन्ट स्टडिज गरिरहेकी उनी शिक्षकले पनि राजनीतिमा लागे पनि पढाई नछाड्नु भनेको सम्झिन्छिन्। एउटा सक्षम नेता बन्न अनुभवका साथै शैक्षिक योग्यता पनि उत्तिकै अनिवार्य ठान्छिन्, उनी। पढेको मानिसले एउटै कामलाई धेरै तरिकाले गर्नसक्ने उनको बुझाइ छ।

फुर्सदमा आमासँग समय बिताउने र कविता लेख्न रुचाउने रन्जु आमाको अचार बनाउने सिपलाई नै ब्यवसायिक रुप दिन चाहन्छिन्। पार्टिको कार्यपालिका अन्र्तगतको केन्द्रिय सदस्य रहेकी उनी अहिले देशमा खुट्टा तानातानको राजनीति भन्दा निष्ठाको राजनीति आवश्यक ठान्छिन्।

महिलालाई निर्णायक तहमा पुर्‍याउन राजनीतिक दलको प्रमुख भूमिका निभाउनुपर्छ। सबै महिला मिलेर अगाडि बढे मात्रै अधिकारका लागि गरेको संघर्ष सफल हुनेछ।

विभिन्न पार्टिमा लागेका युवा नेत्रीहरुले पार्टीको सिद्धान्तभन्दा पनि देशलाई माथि राखेर हेर्नुपर्ने उनको विचार छ। आज देशमा नेताहरुले के गरे भन्नेमा नअल्झी देशमा परिवर्तन ल्याउन युवा नेतत्व नै अग्रसर हुनुपर्ने उनको धारणा छ।

पोखरीको प्रदुषण हटाउँन त्यही पोखरीमा हाम नफाली सम्भव नहुने अनेरास्वबियु केन्द्रिय सचिवालय सदस्य एवं गण्डकी अन्चल इन्चार्ज सरिता पुरीको बुझाइ छ। हाल देशैभरी स्वबियु चुनावको रन्को छ। यही होडमा विद्यार्थी नेत्रीहरु कतिले आफूलाई अग्र स्थानमा उभ्याउने होडमा भाग लिएका छन्।

उनी निर्वाचन हुन बाँकी पीएन क्याम्पसको सभापति उम्मेदवार हुन्। जनज्योति उमावि तनहुँमा कक्षा ८ मा पढ्दादेखि नै संगठनमा लागेकी हुन्। कलेज भर्ना भएपछि राजनीतिमा लागेकी सरितालाई पारिवारीक वातावरणले पनि प्रेरित गर्दै लग्यो। समाजमा रहेको असमानता, पीडा, बर्गिय उत्पीडनलाई राजनीतिमार्फत सकारात्मक परिवर्तन ल्याउन सकिन्छ र आम जनताको जीवनस्तर उकास्न सकिन्छ भनेर उनले यही बाटो रोजेकी हुन्।

राष्ट्रिय राजनीतिमा रहेका बिसंगती र विकृतिलाई हटाउन युवाको भूमिका उनी महत्वपूर्ण ठान्छिन्। ‘अरुको आलोचना गरेर मात्रै दायित्व पुरा हुँदैन’, उनले भनिन्, ‘देशलाई सम्बृद्ध बनाउन चाहने नेपाली महिलाले राजनीतिमा सक्रिय सहभागिता जनाउनैपर्छ।’

राजनीति केन्द्रीय स्तरमा पहुँच बनाइसकेका महिला नेत्रीहरु पनि यस क्षेत्रमा युवा पुस्ताका महिलालाई अझै बढी आकर्षित गर्नुपर्ने विचार राख्छन्। नेकपा एमालेकी केन्द्रीय सदस्य एवं सांसद ममता गिरी राजनीतिमा लागेका महिलाले जीवनी प्रकासन गरेर त्यसलाई पढ्न महिलालाई प्रेरित गर्नुपर्ने बताउँछिन्।

राजनीतिमा लाग्दा कस्तो दुःख र संघर्ष गर्नुपर्छ भन्ने मात्रै होइन कसरी हक अधिकार प्राप्त गर्न सकिन्छ र मुलुकलाई नयाँ बाटोमा डोर्‍याउन सकिन्छ भन्ने कुरा जीवनीले सिकाउने उनको भनाइ छ।

मोतीदेवी स्मृति केन्द्रले हालै प्रकाशन गरेको विभिन्न क्षेत्रमा अब्बल महिलाको जीवनी ‘प्रेरणादायी महिलाहरू’को प्रधान सम्पादक ममता आफै हुन्। निर्णायक तहमा महिलाको सहभागिता संविधानले नै सुनिश्चित गरे अनुसार आफ्नो पार्टीले पनि केन्द्रिय तहका सबै कमिटिमा ३३ प्रतिसत महिला पुर्‍याउने कोशिस गरेको उनले बताइन्। उनी आवद्ध संस्था अन्तरपार्टि महिला संजालले राजनीतिमा युवा पुस्ताका महिलाको संख्या बढाउने र स्थानिय तहको निर्वाचनमा महिलालाई बढी जिताउने उद्देश्यले गाउँगाउँ पुगेर दुई दिने अभिमुखिकरण तालिम संचालन गरिसकेको छ।

देशकै प्रमुख पार्टी नेपाली काँग्रेसको केन्द्रिय तहमा पुगेर नीति निर्माण गर्ने ठाउँमा रहेकी सांसद सुजाता परियार २०४२ सालमा नेविसंघको सदस्य भएर राजनीतिमा लागेकी हुन्। २०४५ सालदेखि मात्रै सक्रिय रुपमा राजनीतिमा लागेकी सुजाता महिला संघ, दलित संघ, संविधानसभा हुँदै संसद भएकी हुन्। नेतृत्व तहमा पुगेका महिलाले सबैलाई समेटेर अगाडि बढ्न सकेमात्रै महिला अधिकारको आन्दोलन सफल हुने उनको बुझाइ छ।

नयाँ संविधानले राजनीतिमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरे पनि प्रतिनिधित्व मात्रै पर्याप्त नहुने उनको बुझाइ छ। ‘महिलालाई निर्णायक तहमा पुर्‍याउन राजनीतिक दलको प्रमुख भूमिका निभाउनुपर्छ’, उनले भनिन्, ‘सबै महिला मिलेर अगाडि बढे मात्रै अधिकारका लागि गरेको संघर्ष सफल हुनेछ।’

२०४६ सालमा बहुदलिय प्रजातन्त्रा प्राप्तिपछि समाजमा महिला र पुरुषका बीच रहेको विभेदको अन्त्य गर्नुपर्छ भन्ने चेतना बढ्दै गयो। रुकुम जस्तो बिकट जिल्लामा जन्मिएर छोरीलाई पढाउनु हुन्न भन्ने विभेदका विरुद्ध पूर्व खेलकुद मन्त्री कमला रोक्काले घरबाटै पहिलो बिद्रोह गरिन्।

त्यसपछि उनको राजनीतिक यात्रा रोकिएको छैन। हाल माओवादी केन्द्रको सचिवालय सदस्य एवं महिला विभाग प्रमुख रोक्काले राज्यको हरेक निकायमा महिलाको एकतिहाई उपस्थिति अनिवार्य हुनुपर्ने भने, नयाँ पुस्ताका महिलालाई पनि राजनीतिक क्षेत्रमा समान अधिकारका लागि प्रेरित गर्नुपर्ने बताइन्।

संविधानले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक दिएको छ। संसदले पास गरेको स्थानीय तहको निर्वाचन सम्बन्धि ऐनमा पनि प्रमुख र उपप्रमुखमध्ये महिलाको प्रतिनिधित्व गराउनुपर्ने, गाउँपालिका, वडापालिकाको वडाहरुमा जनप्रतिनिधी पाँच जनामध्ये दुई जना महिला हुनुपर्ने र त्यसमा पनि एक जना दलित महिला हुनुपर्ने बाध्यकारी ब्यवस्था गरेको छ। यसले तल्लो तहदेखि नै राजनीतिमा महिलाको सहभागिता बढाउने देखिन्छ। अन्नपूर्ण पोष्टबाट