बैशाख १, २०८१ शनिबार

आज हामीलाई कसले नियन्त्रणमा राख्छ?



taslima nasrin

काठमाडौं –  ‘म सोच्दै थिएँ, आज हामीलाई कसले नियन्त्रणमा राख्छ? एउटा पुरूष।’

लेखिका तथा माहिला अधिकारवादी तस्लिमा नसरिनले आफ्नो पहिलो काठमाडौं भ्रमण क्रममा सोमबार आयोजित कार्यक्रमको सुरुमै पितृसत्तामाथि धावा बोलिन्।

‘यो कोठाको दृश्य र योभन्दा बाहिरको दृश्य पनि फरक छैन्। यहाँ पनि महिलामाथि पुरूषहरूले नियन्त्रण जमाइरहेका छन्,’ उनले भनिन्।

महिलाको हकअधिकार र समानताको पक्षमा लामो समयदेखि आवाज र कलम उठाइरहेकी तस्लिमा एक घण्टाको अन्तर्क्रियामा सुरूदेखि अन्तसम्म ‘फायर’ अन्दाजमा प्रस्तुत भइन्। पढाइ र पेसाले चिकित्सक तस्लिमा सन् १९९४ मा बंगलादेशबाट इश्लाम अतिवादीको धम्कीका कारण निर्वासित हुने पुगेकी थिइन्।

उनी लामो समय युरोप-अमेरिका तथा भारतमा निर्वासित रहिन्। चिकित्सक पेसा अपनाउँदा महिलामाथि भएका शोषण र अत्याचार देखेपछि महिलाको पक्षमा बोल्न र लेख्न थालेकी तस्लिमा दक्षिण एसिया महिला विकास मञ्चको आतिथ्यमा पहिलोपटक काठमाडौं आएकी थिइन्। मञ्चमा उनीसँगै भारतकी उद्योगपति रिता सिंह, चीनकी उद्यमी जून हुवाँ उ तथा नेपालकी गायिका आनी छोइङ डोल्मा थिए।

उनीहरूले ‘बी वोल्ड फर चेन्ज’ अर्थात ‘परिवर्तनका लागि निडर बन’ भन्ने विषयमा आ-आफ्नो अनुभव सुनाए। तीन अतिथिमध्ये तस्लिमा ‘फायर’ शैलीमा प्रस्तुत भइरहँदा नेपालकी आनीको प्रस्तुति बिल्कुलै भिन्न थियो। चालीसभन्दा बढी किताब लेखेकी तस्लिमाले पितृसत्ताको चंगुलबाट महिलाको मुक्तिका लागि पुरूषजस्तै महिलाले रोष प्रकट गर्नुपर्ने बताइन्। जबकि भिक्षु जीवनशैली अपनाएकी आनीको भनाइ शान्त थियो। आनीले सुरूका दिनमा आफूभित्र पनि पुरुषप्रति आक्रोश र घृणा भरिएको तर समयक्रमसँगै त्यो हराउँदै गएको बताइन्।

त्यसका लागि आफ्ना गुरू सहायक भएको उनको भनाइ थियो। आफ्ना तिनै पुरूष गुरूका कारण संसार हेर्ने र बुझ्ने शैलीमा परिवर्तन आएको अनुभव उनले व्यक्त गरिन्। ‘आज मेरो जीवनले सार्थकता भेटेको छ, म पहिलेभन्दा खुसी छु,’ उनले भनिन्, ‘हामीले खुसी साट्यौं भने मनको आक्रोश त्यसै मेटिन्छ।’ तस्लिमाले भने फरक मत राखिन्। ‘आनी मलाई तपाईंको जीवन यात्रा असाध्यै मनपर्‍यो। म तपाईंको सम्मान गर्छु तर यो अहंकारी पितृसत्तात्मक समाजका पुरूषहरूमा रहेको रोष र दम्भ कम गर्न धेरैभन्दा धेरै महिला रिसाउनु आवश्यक छ,’ उनले भनिन्।

यसको प्रत्युत्तरमा आनीले उनको भनाइको ससम्मान प्रतिवाद गर्दै फरक सुझाव दिइन्। ‘रिसाउनुपर्छ तर बुद्धिमत्तापूर्वक। म पनि रिसाउँछु तर त्यसलाई म आफू बलियो बन्ने तरिकाले उपयोग गर्छु। अरू संवेगजस्तै रिसलाई पनि बुद्धिमतापूर्वक प्रयोग गर्नुपर्छ। यसो गरियो भने हामीले चाहेको कुरा प्राप्त गर्न सक्छौं। कुराहरू स्पष्ट देख्न सकिन्छ। रिसाउँदा हामीले हेर्ने चिज धूमिल हुन्छ। सही रूपमा हेर्न सकिन्न। त्यस कारण ध्यान भन्ने चिज महत्वपूर्ण हुन्छ। यसले हाम्रो संवेगलाई नियन्त्रण गर्छ। कुराहरूलाई स्पष्ट रूपमा हेर्न र बुझ्न मद्दत गर्छ,’ आनीले भनिन्।

आनी र तस्लिमाका यी फरक विचार उनीहरूको व्यक्तित्व निर्माण र समाजबाट पाएको प्रतिक्रियासँग जोडिएको छ। तस्लिमाले आफ्नो हकका लागि बंगाली समुदायबाट आक्रोश खेपिन्। उनले त्यसको जवाफ पनि आक्रोशपूर्ण अभिव्यक्ति नै हो भन्ने सिकिन्। यसैले उनलाई ‘फायर’ बनायो। छलफलकै क्रममा तस्लिमाले केही महिलाले पाएको पद र सफलता हेरेर महिलाको स्थितिमा सुधार भएको मान्न नहुने भनाइ पनि राखिन्।  ‘मलाई मेरो देश बंगलादेशबाट निकालियो जहाँका प्रमुख महिला थिइन्। त्यहाँको विपक्षमा को थिइन्? महिला।

मलाई कसले मेरो देश छिर्न रोक्यो? ती  महिलाहरू नै थिए,’ तस्लिमाले भनिन्, ‘त्यस कारण लैंगिकता कुरा महत्वपूर्ण होइन्। त्यसका लागि वैचारिक प्रतिबद्धता महत्वपूर्ण हुन्छ। तपाईं शक्तिमा हुनुहुन्छ भने महिलाको अवस्था सुधार गर्न वैचारिक प्रतिबद्धता हुनुपर्छ।’ आफ्नो लेखनबाट कयौं महिलाले प्रेरणा लिएको थाहा पाउँदा आफूले ऊर्जा पाउने गरेको उनले बताइन्। ‘म खुसी छु, धेरै महिलाले मेरो लेखन र संघर्षबाट आफूलाई अब्बल बनाएका छन्। उनीहरूले प्रेरणा लिएका छन् र आफूलाई अझ बलियो पारेका छन्।

चाहे त्यो बंगलादेश होस् या नेपाल वा भारत, पाकिस्तानका महिलाहरूले मेरो किताब पढेर आफूले शक्ति प्राप्त गरेको बताउने गरेका छन्। महिलाको समानताका लागि मलाई सम्मान पनि गरिएको छ। त्यसैले एक दुई महिला अगाडि बढ्नुभन्दा पनि सबैखाले महिलाको जीवनमा त्यो अवस्था आउनुपर्छ। महिलाप्रतिको विचारधारामा परिवर्तन हुनुपर्छ,’ उनले भनिन्। तस्लिमाले आफू महिलामात्र नभएर किनारामा पारिएका सबै पीडितको पक्षपोषक रहेको र आफूलाई अन्यायमा परेकाहरुको मित्रका रुपमा बुझ्न उनले आग्रह गरिन्। आफ्नो ‘लज्जा’ उपन्यासलाई उनले त्यसको उदाहरणका रूपमा प्रस्तुत गरिन्। ‘मेरो ‘लज्जा’ किताबले बंगलादेशमा अल्पसंख्यक हिन्दुले भोग्ने दमन, शोषण र अन्यायको कुरा गर्छ। म खासमा दबिएका र दबाइएका मानिससँग सधैं उभिन्छु। म शोषित महिलाको पक्षमा उभिन्छु।

म हिन्दु, इसाई, इस्लामका अल्पसंख्यक पक्षमा उभिन्छु, जहाँ उनीहरूलाई दमन गरिन्छ। चाहे ती प्यालेस्टाइन हुन् या पाकिस्तानका अल्पसंख्यक इसाई वा बंगलादेशका अल्पसंख्यक हिन्दु। म मान्छेका अधिकारको पक्षमा उभिन्छु। म मानिसका स्वतन्त्रताको पक्षमा उभिन्छु। उनीहरू जुनसुकै धर्म वा लिगंका हुन्, त्यसले मलाई फरक पार्दैन,’ तस्लिमाले भनिन्। ‘हामी स्वतन्त्रता, अधिकार, वाक स्वतन्त्रता तथा मानव अधिकारको पक्षमा उभिनुपर्छ।

महिला पुरूषमा बराबरी हुनुपर्छ। पुरूष जे जे हुन सक्छन्, महिला पनि हुन सक्छन्. चाहे त्यो डाक्टर, इन्जिनियर, पाइलट, एस्ट्रोनट,किसान, मिलेटरी, पुलिस जे होस् तर के पुरूष महिलाले जे गर्छन् त्यो गर्न सक्छन्? उनीहरूले प्रमाणित गर्नु जरूरी छ। के उनीहरू महिलाले जस्तै बच्चाको लालनपालन गर्न सक्छन। महिला-पुरूष दुवै काम गर्छन। पुरूषहरूले महिलाले गर्ने काम सिक्न बाँकी छ अनि मात्र महिला पुरूष बराबर हुन्छन्,’ उनको भनाइ थियो।