चैत्र १६, २०८० शुक्रबार

युद्धका घाउहरुमा मल्हम लगाउनुपर्छ, हातेमालो गरौं



kabita dhungana

काठमाडौ – २०६१ सालमा आफ्ना पिताको शरिर गोलीले ढल्दा कविता बाल्यअवस्थामै थिईन । सुरक्षाकर्मीको गोलीले बुबाको मृत्यू भएको थाहा भयो तर किन ढालियो कारण बुझ्न सकिनन्, किनकी उनी राजनीति बुझ्न सक्ने भईसकेकि थिईनन् । पछि उनी जति राजनीति बुझ्न थालिन्, त्यति बुबाको मृत्यूको कारण खुल्दै गयो । जति कारण खुल्दै गयो त्यति उनी बुबाका सपनाहरु पूरा गर्न त्यति कटिबद्ध भएर लाग्न थालिन् ।
आफूलाई जन्मदिने बुबा गुमाउँदाको पिडा त के गरेर भुल्न सकिन्छ र तर उनीहरुको अठोट चाहिँ पूरा गर्न सकिन्छ । नुवाकोटका तत्कालिन जिविस सभापति शहिद भरत ढुंगानाकी टुहुरी छोरी कविता अहिले उनै बाबुको पदचाप पछ्याउँदै बेलकोटगढी नगरपालिकाको उपमेयर पदमा लोकप्रीय मत लिएर निर्वा्चित भएकी छिन् ।
नुवाकोटका चर्चित एमाले नेता भरत जिविस सभापतिमा बहाल रहेकै अवस्थामा माओवादी आन्दोलनमा लागेर शहिद भएका थिए । ०५४ सालमा नुवाकोट जिविसको सभापति भएका भरत कार्यकाल सकिन एक वर्ष बाँकी छँदा ०५८ सालमा उनी एमाले छाडेर माओवादीमा लागे । किसान संगठनको केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीमा रहेका भरतप्रसाद ढुंगाना र विद्यार्थी नेता बैकुण्ठ पोख्रेललाई प्रहरीले धादिङको गुम्दीबाट निःशस्त्र अवस्थामा नियन्त्रणमा लिएर ०६१ असार ३१ गते हत्या गर्यो ।
जनप्रतिनिधी भएर जनताको सेवामा लाग्दालाग्दै लडाईमा लागेका ढुँगानाको सपना पूरा गर्न त्यहाँका स्थानीयले २७ वर्षिया छोरीलाई लोकप्रिय मत दिएर जिताएका छन् ।
‘मतदाताहरुले पहिले मेरा बुवालाई गरेको माया र सदभावको प्रतिफल पनि हो यो, यतिधेरै जनताले साथ दिनुभयो कि सबैभन्दा धेरै मत ल्याएर विजयी भएँ’ उनी भन्छिन् ‘युवा नेतृत्वले नै केही गर्नसक्छ भन्ने भरोसा र विश्वासका कारण पनि यो जित हासिल भएको हो ।’ जनताको भरोसा र उनको अठोटलाई साथ दिन्छ उनको योग्यताले पनि । किनकी उपमेयर कविता कानुन विषयमा स्नातक  (एलएलबी) पूरा गरेर अधिवक्तासमेत हुन्, उपमेयरले जनतालाई न्याय दिनुपर्ने पनि कानुनी व्यवस्था छ ।  व्यवस्थापन विषयमा स्नातकोत्तर (एमबीएस) कविता हाल राजनीतिशास्त्रमा पनि स्नातकोत्तर दोस्रो सेमेष्टरमा अध्ययनरत छिन ।
निर्वाचनमा प्राप्त गरेको यो जितमा खुसीभन्दा पनि धेरै जिम्मेवारीबोध भएको उनले बताइन् ।

आफू सानै छँदा बुवाको सहादत भएकाले बुबाको संझना त धमिलो तर बुबाका सपनाहरु भने ताजा छन् उनीसंग, जनतालाई अधिकार सम्पन्न गराउने सपना । त्यही सपना पूरा गर्ने अठोठमा उनी छन्, बुवाको त्यो विश्वास मर्न दिनुहुँदैन र निःस्वार्थरुपमा जनताको पक्षमा काम गर्नुपर्छ । ‘बुवासँगै राजनीति गरेका अग्रजहरु र आमाबाट थाहा पाएँ उहाँले निषेधको राजनीति गर्नुभएन , सबैसँग मिलेर काम गर्नुभयो’ उनी भन्छिन् ‘देशमा गणतन्त्र ल्याउनुपर्छ, संघीयता लागू हुनुपर्छ, जनतालाई अधिकार सम्पन्न बनाउनुपर्छ भनेर उहाँ माओवादी राजनीतिमा लाग्नुभयो र अहिले हामी त्यही माओवादी राजनीतिको प्रतिफल स्वरुप संघीयतामा छौं ।’ स्व भरतप्रसाद अहिले भौतिकरुपमा नरहे पनि नुवाकोटबासी र खासगरी बेलकोटगढीबासीमा भरतप्रसादप्रतिको विश्वास नमरेकै कारण छोरीलाई राम्रो मत दिएर जिताएका छन् ।
धेरैलाई युद्धको घाउले पोल्छ, पिडा दिन्छ । कतिले त्यसैलाई पूर्वाग्रहका रुपमा अहिले पनि उचाल्न चाहन्छन् तर देशमा राजनीतिक युद्ध युद्ध लडेकाहरु अहिले शान्ति र मेलमिलापको नीतिअनुसार अघि बढेकाले अब मनमा खोट नराखी अघि बढ्नुपर्ने उनी बताउँछिन् । ‘हाम्रो लडाईं सरकारसँग थियो । सेना पुलिससँग हाम्रो व्यक्तिगत दुश्मनी पनि होइन, विरोध पनि होइन’ उनी भन्छिन् ‘जो जहाँ रहे पनि हामी सबै दाजुभाइ, दिदीबहिनीहरु हौं । त्यसैले सेना÷प्रहरी हुँदैमा वा माओवादी हुँदैमा हाम्रो कुनै तिक्ततापूर्ण सम्बन्ध छैन र हुनु पनि हुँदैन ।’
युद्ध रोकिएको पनि दशक नाघिसकेको छ । उनको विचारमा अव प्रतिशोध होईन मेलमिलापबाट अघि बढ्नुपर्छ । सबै मिलेर देश बनाउँनुपर्छ । ‘युद्धका घाउहरुमा मल्हम लगाउनुपर्छ । पहिलेका कुरा सम्झिएर, मनमा खोट राखेर बस्नुहुँदैन’ उनी भन्छिन् ‘त्यसैले मैले सबैलाई भन्ने गरेको छु, सबै तिक्ततालाई धोइपखाली गरौं । हातेमालो गरेर अघि बढौं र कम्तिमा हाम्रो बेलकोट गढीलाई समृद्ध बनाऔं । अहिले समाजले पनि त्यही माग गरेको छ ।’