बैशाख १२, २०८१ बुधबार

दयावती मोदी स्त्री शक्ति सम्मान पहिलो पटक नेपाली नागरिकलाई



lily-thapa-

काठमाडौ – भारतको स्त्री शक्ति नामक एक संस्थाले नेपालकी महिला अधिकारकर्मी लिली थापालाई दयावती मोदी स्त्री शक्ति सम्मान बाट सम्मानित गर्ने भएको छ । एकल महिलाका क्षेत्रमा थापाले गरेको योगदानको मूल्यांकन गर्दै सो सम्मान प्रदान गर्न लागिएको भारतीय संस्थाले जनाएको छ । सो सम्मानका लागि पहिलो पटक नेपाली महिला अधिकारकर्मी छनौट भएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्मान कार्यक्रम समेत पहिलो पटक नेपालमा आयोजना गरिने स्त्री शक्तिले जनाएको छ । राजधानीको एक होटलमा पर्सि सोमवार एक कार्यक्रम गरी थापालाई अवार्ड प्रदान गरिने संस्थाकी अध्यक्ष रेखा मोदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आफ्नो वार्षिक कार्यक्रम अनुसार सो संस्थाले हरेक वर्ष महिला सशक्तिकरण, कला, साहित्य लगायतका क्षेत्रमा काम गर्ने महिलाहरुलाई सम्मान गर्ने गरेको छ । महिला अधिकारकर्मी लिली थापाले सम्मान पाउनु खुशी र गौरवको कुरा भएको प्रतिक्रिया दिईन ।

दयावती मोदी स्त्री शक्ति सम्मान पाउने पहिलो नेपाली भएकोमा खुशी ब्यक्त गर्दै थापाले यसबाट महिला अधिकारका क्षेत्रमा काम गर्न थप हौसला र उर्जा मिलेको बताईन । एकल महिलाको अधिकार क्षेत्रमा कार्यरत थापा मानव अधिकारका लागि महिला, एकल महिला समूहकी संस्थापक अध्यक्ष हुन।