>

श्रावण ५, २०७८ मंगलबार

२७ मध्येकी एक्ली महिला’अफिसर’!लोकसेवाको हुटहुटीले बनायो स्वाभिमानी सचिव



Yam Kumari 1

काठमाडौँ – निजामती सेवामा महिलाबाट औँलामा गनिने पात्र हुन् यामकुमारी खतिवडा । बहालवाला नेपाल सरकारको सचिव मध्येकी एक उनी राष्ट्रिय सूचना आयोगमा कार्यरत छिन् । दुई महिनाअघि वरिष्ठताको आधारमा सचिव पदमा उनको पहिलो नियुक्ति आयोगमै भएको हो । उनी ओखलढुंगाको हर्कपुरमा जन्मेकी हुन् । प्रावि गाउँमै सके पनि निमावि, मावि स्तरको शिक्षाका लागि गाउँमा नजिक स्कुल थिएन । दुई घण्टा हिँडेर स्कुल पुग्नु पथ्र्यो । भौगोलिक विकटता, छोरीले पढ्नु हुन्न भन्ने परम्परा छँदैथियो । डाँडापाखा छिचोल्दै, गलत परम्परा तोड्दै पढ्न जानु उनका लागि चुनौती थियो । खतिवडा दुई घण्टा लगाएर बिहान स्कुल पुग्थिन् । उत्तिकै समय लगाएर घर फर्कनु पथ्र्यो । तीन दसकअघि उनले एसएलसी पास गर्दा छोरीले स्कुल जाने चलन आइसकेको थिएन ।

उनको घरमा पढ्ने वातावरण थियो । उनका बुबा नन्दराज खतिवडा सरकारी जागिरे थिए । उनले स्कुल पढ्दा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा काम गर्थे । उनका दुई दिदी, दाजुले पनि एसएलसी सकिसकेका थिए । उनीसँगै पढ्ने साथीहरुको नौ कक्षामा पढ्दापढ्दै विवाह भयो । सानैमा विवाह गरिदिने चलनले उनलाई पनि छोड्नेवाला थिएन तर आमा उमादेवीले छोरीलाई सानैमा विवाहभन्दा पढाउनमा जोड गर्थिन् । आमाले समाजको अनेक दबाब सहेर पनि छोरीलाई स्कुल निरन्तर पठाउन छोडिनन् ।

गाउँको पढाइ, त्यस जमानामा पढाइ दोस्रो प्राथमिकतामा हुन्थ्यो किनभने गाउँमा पहिलो प्राथमिकता काम नै पर्छ । घरको काम सकेर बाँकी समय पढ्नका लागि छुट्याउने गरिन्छ । उनी एसएलसी सकेपछि २०४४ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ आइन् । उनका दाजु काठमाडौँमै रहेकाले बस्न समस्या थिएन । दाजुसँगै बस्न पाउनु उनका लागि एउटा अवसर बन्यो ।

उनी पद्मकन्या क्याम्पसमा आइए भर्ना भइन् । बिए पनि त्यहीँबाटै पास गरिन् । उनका दाजु २०४९ सालमा शाखा अधिकृत भइसकेका थिए । सानैदेखि सरकारी जागिर खाने हुटहुटी उनमा थियो । हुटहुटीकै कारण पहिलो पटकमै २०५१ सालमा संसद् समूहबाट शाखा अधिकृतको रुपमा नाम निकाल्न सफल भइन् । उनी सरकारी जागिरमा प्रवेश गर्दा २७ जनामध्येकी एक्ली महिला थिइन् ।

सरकारी जागिर खाने भित्री इच्छा पूरा भैसकेपछि उनले बल्ल विवाह गरिन् । उनका पति प्रो.डा. धर्मकान्त बास्कोटा त्रिभुवन शिक्षण अस्पतालमा कार्यरत छन् । विवाहलगत्तै चार वर्षको अवधिमा एक छोरा र एक छोरीलाई जन्म दिइन् ।

Yam kumari khatiwada
विवाहपछि उनको करियरलाई खासै असर परेन तर परिवारको जिम्मेवारी र करियर दुवै चुनौती कम भने थिएन । करियर र परिवारलाई सँगसँगै अगाडि बढाउने चुनौती थपिएको थियो । आखिरमा त्यो चुनौती सजिलैसँग सामना गरिन् । छोराछोरी हुर्काउँदै, घर धान्दै, जागिरसँगै पढाइलाई पनि निरन्तरता दिइन् ।

उनका लागि परिवारले पनि सहयोग गरेको बताउँछिन् । ‘परिवारले सहयोग नगरेको भए यहाँसम्म कसरी आउनु ?’ त्यसैले त उनको पहिलो प्राथमिकता परिवार पर्छ । उनले पनि परिवारका लागि निकै अवसर छोडेकी छिन् । अवसर छोड्नु परे पनि करियरलाई निरन्तरता दिन कहिल्यै छोडिनन् ।

उनी तीन विषयमा स्नातकोत्तर उत्तीर्ण हुन् । सचिव खतिवडाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा पहिलो स्नातकोत्तर सकेकी थिइन् । त्यसपछि जनप्रशासनमा स्नातकोत्तर, दक्षिण कोरियाबाट पब्लिक पोलिसी विषयमा स्नातकोत्तर साथसाथै बिएल पनि सकेकी छन् । जन्मेको परिवारबाटै पढ्नुपर्छ, आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने शिक्षा सिकेकी हुन् । विवाहपछि परिवारले गरेको अर्को सहयोग उनका लागि फलदायी बन्यो ।

निजामती सेवामा शाखा अधिकृत, उपसचिव, सहसचिव, कामु सचिव हुँदै उनी वरिष्ठताका आधारमा सचिव भएकी हुन् । कुनै पनि आरक्षण लिनु परेको छैन । हरेक श्रेणीका खुल्ला प्रतिस्पर्धाबाटै उनी सचिव भएकी हुन् । निजामती सेवाको अनुभव उनले संगाल्ने मौका पाएकी छन् । सरकारको सचिव दुई महिला सचिवमध्यकी उनी एक हुन् । सचिवको कुर्सीमा बसिरहँदा उनले पद मात्र होइन, जिम्मेवारी बढेको महसुस गरेकी छन्, भन्छिन्, ‘जतिजति पद बढ्दै जान्छ, उति जिम्मेवारी बढ्छ । सचिव पदले थप सजग, जिम्मेवार बनाएको छ ।’

………………………………………….

एक महिलाका लागि कुनै पनि काम प्रमाणितै गरेर देखाउनुपर्छ । त्यो कतिपय सवालमा उनलाई पनि लागू भएको छ । हाम्रो समाजले महिलालाई कमजोर ठान्छ । जिम्मेवारी दिनुअघि पुरुषलाई कमजोरीको आँखाले हेरिँदैन । महिलालाई भने जिम्मेवारीमा शंका र कमजोर छ कि भनी शंकाको नजरले हेरिन्छ । सामाजिक अवस्थाजस्तै महिलालाई कमजोर सोच्ने पद्धति सरकारी कार्यालयहरुमा यथावत् छ । ‘महिला जिम्मेवार, कामप्रति संवेदनशील हुन्छन्,’ उनी थप्छिन्, ‘पुरुषले भन्ने कार्यसम्पादन महिलाको राम्रो छ ।’

कतिपय बेला राज्यको पद्धतिभित्र पस्दा अवसर गुमाउनुपरेको उनको अनुभव छ । ‘पुरुषहरुलाई बिना शंका जिम्मेवारी दिइन्छ । महिलालाई कताकता काममा शंका गरिन्छ । त्यसैले महिलाले कामै गरेर प्रमाणित गर्नुपर्छ ।’ उनका अनुसार अवसर कम होस् तर स्वाभिमान महिलाको बढ्तै हुन्छ । जागिरको सिलसिलामा महिला भएकै कारण कुनै पनि काममा असजिलो भने उनले खेप्नु परेको छैन । सबैबाट सहयोग पाइरहेको उनको भनाइ छ ।

महिलाले करियरका साथै प्राकृतिक भूमिका निभाउनुपर्दा कहिलेकाहीँ अवसर गुमाउनु परेको हुन्छ । घरपरिवार, अफिसको दोहोरो जिम्मेवारी बहन गर्दा महिलाहरुले अवसर गुमाउनुपर्छ । परिवारको जिम्मा लिँदा करियरको क्रममा आउने अवसर छुट्नु महिला हुनुको अभिसाप बन्ने गर्छन् ।

कुनै पनि काममा मिहिनेत, निरन्तरता लक्ष्यमा पुग्ने बाटो मान्छिन्, उनी । घर परिवारको जिम्मेवारी सम्हाल्दै जागिर, पदोन्नति, पढाइका लागि समय व्यवस्थापनको निकै भूमिका देख्छिन् उनी । ‘कुन कामलाई प्राथमिकता दिने, त्यो जिम्मेवारी आफैँमा हुन्छ,’ उनी भन्छिन्, ‘समय व्यवस्थापन गर्न सक्यौँ भने सबै काम गर्न सकिन्छ ।’ आफू सचिव पदमा पुग्नुको श्रेय श्रीमान्, छोराछोरी, घरपरिवार सबैलाई दिन्छिन् ।

सबैको सहयोगका कारण उनी अगाडि बढ्न सकेको ठान्छिन् । उनी भुल्दिनन्, कुनै पनि महिलाको सफलतामा श्रीमान्, घरपरिवारको सहयोग चाहिँ हुनैपर्छ ।

(नागरिक परिवारबाट साभार)