चैत्र १६, २०८० शुक्रबार

कमाण्डर उषा : आफू बनिन संसदकी मुली, गुरु बनाईन घरका मुली



onsari-gharti-magarरातो ब्लाउजमा सपक्क मिलेको सुन्तला रंगको सारीमा सजिदाँ व्यवस्थापिका संसदकी घरमुली सभामुख ओनसरी घर्तीमगरको व्यक्तित्व लोभलाग्दो छ ।हँसिलो अनुहारमा मानिसहरु संग कुराकानी गर्दा त झन उनको व्यक्तीत्वको उचाई बढ्छ । धेरैलाई कम उमेरमै पहिलो महिला सभामुख  भएकी घर्तीको जिवनशैली र आनीवानीको बारेमा जान्ने चाहना हुन्छ ।
बिहान उठ्ने समयको बारेमा कुनै टुगो नै नहुने उनले बताइन् । सरल बोली, सामान्य जीवनशैली । व्यस्त दिनचर्यामा दिनको सुरुवात भने एकैनासको हुँदोरहेछ । चिया, कफि पिएर सुरु हुने दिनचर्यामा भान्साको काम भने त्यति भागमा पर्दैन । फुर्सद भएका बेला आफैं खाना बनाएर खाने गरेको सभामुख घर्तीले आफू सानैदेखि भान्छामा अलि अल्छि रहेको कुरा सुनाईन् ।उनले जिम्मेवारी काठमाडौंमा बसेर बहन गरेपनि मनमा रोल्पा नै बसेको बताइन् । दशैं मनाउन र आफन्तसंग भेट्न उनी पनि यसपाली रोल्पा प्गिन् । उनले भनिन् — रोल्पा पुग्दा पुरानो उही दिनचर्या – उही ब्यवहारले तानी सकेको हुन्छ । ” रोल्पा पुग्दा अहिलेपनि आफू खेतबारीको काम गर्ने मगरले बताइन् । सभामुख बनेपछि उनको दिनचर्या बदलिएको छ तर, द्वन्द्वकालको छापामार जोश र जाँगर अझै कम भएको छैन । माओवादीको दशवर्षे सशस्त्र द्वन्द्वको सुरुवातसँगै छापामार उषा बनेर उदाउनु भएकी ओनसरीको रफ्तार उषाको किरण झैं छ ।युद्धको मैदानमा होमिदा देखेको सपना यसरी सुनाइन । ‘छोरीमान्छे पनि कमजोर छैनन् भन्ने पुष्टि गर्नु थियो । हिजो छापामार हुँदा पनि गरें अहिले पनि गरें’ वर्तमान संग आफुलाई दाँज्दै तुलना गरिन् ।

रोल्पा ओनसरीको जन्मथलोमात्र हैन, उनको पार्टी तत्कालीन माओवादीले सुरु गरेको दशवर्षे सशस्त्र द्वन्द्वको उद्गम थलो पनि हो । त्यही थलोले एसएलसी परीक्षा दिंदा–दिंदै राजनीतिमा तान्यो । मगर समुदायमा महिलालाई पूर्ण स्वतन्त्रता दिने परम्पराको फाइदा उठाउँदै ओनसरीलाई राजनीतिमा हाम फाल्न सजिलो भयो । तर युद्धभने निकै कठिन थियो । पहिलो होलेरी आक्रमणमा महिला छापामार भएर लड्दाको अनुभव अहिले पनि दिल र दिमागमा गाढा भएर बसेको छ ।युद्धको मैदानमा हुदाँ महिलाको हातबाट बम पड्किन्छ होला कि पड्किदैंन होला  ?  महिलाले पनि बन्दुक चलाउन सक्छन् होला  ? जस्ता प्रश्न मनमा खुब उब्जिन्थ्यो ।

२०६३ मंसिर ५ को शान्ति सम्झौतापछि माओवादी खुला राजनीतिमा आयो, समय बदलियो । सँगसँगै ओनसरीको भूमिका पनि बदलियो । २०६७ सालमा युवा तथा खेलकुदमन्त्री बनेपछि सत्ताको अनुभव ल्याएकी ओनसरी दोस्रो संविधानसभाको चुनाव २०७० मा रोल्पा निर्वाचन क्षेत्र–२ बाट प्रत्यक्ष निर्वाचित साँसद हुन् । युद्धमा पुरुषसत्ता चिरेर अघि बढेजस्तै सभामुख बनिसकेपछि पनि केही गर्नसक्छु भन्ने दृढता झन बढेको छ । राज्यको उच्च पदमा आसिन भएपछि घर, कार्यालय, पार्टीको तेहेरो भूमिकामा रहेकी ओनसरीले दुई सन्तानको भविश्य र देशको कानुन बनाउने संसदको भविष्यलाई एकैसाथ अगाडी बढाएकी छिन् ।

रोल्पाको सामान्य मगर परिवारमा जन्मिएकी सभामुख ओनसरीलाई कहिल्यै लाग्दैन थियो, ‘आफू देशको सर्वोच्च पदमा पुग्छु ।’ तर लागिरहन्थ्यो, ‘एक दिन जनताका छोराछोरीले शासन गर्ने दिन आउँनेछ ।’ पहिलो पटक सभामुखमा निर्वाचित हुदाँको उनको अनुभव यस्तो छ । ‘दुईवर्ष उपसभामुख भएर सभामुखको सहयोगीको भूमीका निर्वाह गरें । अवश्यपनि सुरुका दिनमा अप्ठ्यारो त भयो नै । किनकी हामीलाई यो कुरामा अभ्यास थिएन ।’

शुरु शुरुमा सदन चलाउन भने त्यति सजिलो भएन । सम्बन्धले जीवन साथी भएपनि राजनीतिका गुरु भएकाले उनको पहिलो सल्लाहकारको भूमिका बर्षमान पुन अनन्तकै थियो । व्यस्त दिनचर्या, साँझ पख श्रीमानसँग व्यक्तिगत र राजनीतिक सल्लाह, सभामुख बनेपछि यसैगरी सुरु हुने समय अहिले पनि चलिरहेकै छ । संसदमा हरेक दिन माननीय सदस्य भन्दै बैठक सुरु गर्ने ओनसरी घरमा चै श्रीमानसँगको संवोधनमा नझुक्निे बताउछिन ।

आफूले लगाउने कपडा आफैं किन्ने फुर्सद मिल्दैन । त्यसैले धेरै जसो अर्कैले उपहार दिएको कपडा लगाउछिन उनी । सौन्दर्य मन पर्छ तर, गाजल, टीका, लिपिस्टीक कहिल्यै लगाउदिनन । । थोरै बोल्ने, थोरै हाँस्ने, नरम स्वभावका सभामुखको जीवनशैली बोलीचालीमा नै झल्किरहन्थ्यो । २०३४ सालमा जन्मनुभएकी सभामुख ओनसरी घर्तिमगर ३९ बर्षकी भइन् । आउँदो कात्र्तिक २८ गते उनी ४० बर्षमा प्रवेश गर्दैछिन । उमेरले ४० टेक्दैछ तर जिम्मेवारीले पाको बनाइसक्यो । उमेरमा अलि सानै सभामुख घर्तिमगरको जिम्मेवारी भने निकै महत्वपूर्ण छ । साभार सिआइएन ।