>

चैत्र ३१, २०७७ मंगलबार

छोरा जन्माइनस् भन्नेलाई छोरीहरूले दिए गतिलो झापड : एकै घरका १२ जना सरकारी जागिरे



काठमाडौँ- विदुर भट्टराई रिटायर्ड सरकारी अधिकृत हुन् । उनका छ छोरी र पाँच जुवाइँ पनि सरकारी जागिरे छन् । तीन छोरी उपसचिव भइसकेका छन् भने दुई छोरी शाखा अधिकृत र एक छोरी सुब्बा छन् ।

तीन छोरी जन्मेपछि परिवार नियोजन गर्न हिँडेका विदुर भट्टराईलाई कान्छी फुपूले रोकिन् । ‘छोरीले मात्र पुग्छ रु खोइ छोरा रु’ उनकी फुपूको प्रश्न थियो । भट्टराईका आमाबुबा पनि तीन छोरीले मात्र सन्तुष्ट थिएनन् । ‘एउटा नाति त चाहियो’ भन्ने उनीहरूलाई पनि लाग्थ्यो । यो चार दशकअघिको कुरा हो ।

खोटाङ, लामिडाँडामा जन्मेका विदुरले तीन वर्ष गाउँकै निमाविमा शिक्षक भएर काम गरेका थिए । त्यतिबेला गाउँको परिवेश सरकारी जागिरप्रति निकै आकर्षित थियो । शिक्षकको जागिरभन्दा निजामती सेवामा जानुपर्छ भन्ने विदुरलाई पनि लाग्यो । आमाबुबाको चाहनाअनुरूप २०३४ सालमा उनी खरिदारबाट सरकारी जागिरमा पसे ।

सप्तरी, राजविराजमा भूमिसुधार कार्यालयमा उनको पहिलो जागिर सुरु भएको थियो । उनी सुब्बा हुँदै अधिकृतसम्म पुगे । केही वर्षअघि अधिकृत पदबाटै रिटायर्ड भइसकेका छन् ।

पढाइ नै सर्वस्व

उनी छोराछोरीबीच खासै विभेद देख्दैनथे । तर, परिवार, छरछिमेकले उनीबाट छोराको चाहना राखेको राम्रोसँग बुझेका थिए । अरूका लागि भए पनि छोरा जन्माइदिनुपर्ने बाध्यता र सामाजिक दबाब उनीमाथि थियो । उनकी पत्नी गंगादेवीले पनि छोरी मात्र जन्माउँदा निकै गुनासो सुन्नुपरेको थियो ।

छोराकै आशमा छ बहिनी छोरी जन्मिए । छोरा पर्खंदा छोरी जन्मे पनि भट्टराई जोडी कहिल्यै दुःखी भएनन् । उनले जुनसुकै हालतमा छोरीहरूलाई पढाउने दृढ संकल्प गरिसकेका थिए ।

गंगादेवीलाई अरूका लागि छोरा जन्माइदिन नसकेकोमा दुःख लाग्थ्यो । आफ्नै गल्तीले परिवारको चाहनाअनुसार छोरा जन्माउन नसकेको हो कि जस्तो उनलाई लाग्थ्यो । छ कक्षामा पढ्दै गर्दा १४ वर्षमै उनको विवाह भएको थियो । उनी १६ वर्षकी हुँदा जेठी छोरी जन्मिएकी थिइन् । २१ वर्षको उमेरसम्म पुग्दा उनले तीन छोरी जन्माइसकेकी थिइन् । उनी भन्छिन्, ‘तीनटी छोरी जन्मेपछि बल्ल आमा भएको महसुस गरेँ ।’

श्रीमान्को मात्रै जागिरमा रमाउन नचाहने उनी छोरीहरूलाई काममा भन्दा पढ्नमा जोड दिन थालिन् । सानैदेखि लगनशील, अनुशासित बन्न छोरीहरूलाई सिकाइन् । आफूले पढ्न नपाए पनि छोरीहरूलाई पढाएर देशको सेवा गर्ने मान्छे बनाउने इच्छा थियो । उनको इच्छा पूरा भएको छ । गंगादेवी भन्छिन्, ‘देश बनाउने छोरी बनून् । देशका सबै छोरीहरू विद्वान बनून् । छोरा र छोरीमा केही फरक छैन ।’

विदुर आफैँ सरकारी जागिरे भएकाले उनले सरकारी जागिरको महत्व बुझेका थिए । त्यसबेला महिला विकास कार्यालय धनकुटामा मुख्य महिला कार्यकर्ताको जागिर खुलेको थियो । उनले छोरीलाई अह्राए । ठूली छोरी विष्णुले अस्थायीमा नाम निकालिन् ।

त्यतिबेला उनको परिवार खोटाङबाट सुनसरी बसाइँ सरेको थियो । ठूली छोरी पोशाक लगाएर अफिस जाँदा अरू छोरीहरूलाई प्रेरणा मिलेको भट्टराई बताउँछन् । उनका अनुसार ठूली छोरीले जागिर खान थालेपछि अरूले पनि देखासिकी गर्न थाले । ‘अरू छोरीहरूले पनि जागिर खानुपर्छ भन्ने सोच्न थाले,’ गंगादेवी भन्छिन् ।

भट्टराईलाई कुनै ठूला मान्छेसँग झुकेर, भनसुन गरेर छोरीहरूलाई जागिर खुवाउन मन थिएन । आफ्नै बलबुताले जागिरमा प्रवेश गरून् भन्ने उनको इच्छा छोरीहरूले पूरा गरिदिए । ‘स्वदेशमै संघर्ष गरेर छोरीहरूले देशको सेवा गरून् भन्ने सोच्थेँ । मेरो इच्छा उनीहरूले पूरा गरिदिए,’ विदुर भन्छन्, ‘छोरा जन्माइनस् भन्नेलाई छोरीहरूले गतिलो झापड दिए ।’ साभार : नागरिक परिवारबाट