>

श्रावण ५, २०७८ मंगलबार

जुनकिरीको उज्यालोमा समानुपातिक उम्मेदवार



Gita Thapa Rijal

गुल्मी – जन्मदिने आमा गुमाएको पिडामा गुल्मी रेसुङ्गाकी गीता रीजाल थापाका दिनहरु निकै नरमाईलो गरी वित्दै थिए । सानै उमेरमा आफ्नो काख छाडेर शाही सेनाको निर्मम यातना भोगेकी छोरी, ३२ वर्षसम्म पनि खासै उपलब्धि नभएको देखेर चिन्तामा डुबिरहेकी आमाले पिरैपिरमा संसार छाडेको एक महिना पनि पुगेको थिएन् ।

उनी मातृवियोगको पिडामा छटपटिरहँदा आफूले लडेर ल्याएको संघिय गणतन्त्र नेपालमा पहिलोपटक निर्वाचन हुने चर्चा चलिरहेको थियो । तिनै आमाको काख छाडेर १५ वर्षे उमेरमै बन्दुक बोकेर हिँडेका दिनहरु सँझेर रुँदै गर्दा एकदिन नजिकीएको निर्वाचनमा आफ्नो नाम सिफारीस भएको खवर जिल्ला पार्टीको कोषाध्यक्ष रहेका श्रीमानबाट थाहा पाएपछि उनले बर्रर आँसु खसालिन् ।

आफ्नी आमालाई सम्झिन्, स्कुले दिन सम्झिन्, आफू लडेको क्रान्ति सम्झिन् र शाही सेनाको यातना सम्झिन् अनि क्रान्ति सकिएर फर्केपछिको आफ्नो ११ वर्ष सम्झिन् । धेरै नभएपनि आफ्नो परीवार एउटा बाटोमा हिँडाएका साथीसंगी र अझै पनि देश र जनताको लागि पार्टीका काममा खटीरहेकी आफू अनि आफ्नो श्रीमानको जीन्दगीको तुलना गरीन् । व्यक्तिगत जीन्दगीमा केही परीवर्तन नआएका आफूहरु र आमालाई सम्झेर रुँदैगर्दा उनलाई अव भने पार्टीले साँच्चि न्याय गर्ने आशा पलाएको छ ।

साथीले बा आमासंग पैसा माग्ने उमेरमा म बन्दुक बोकेर सेनाको ब्यारेकमा

Gita Rijal

ईश्माका रीजाल चिनिएका पुराना साहु खलक । बाहिर सुन्दा राम्रै थियो । एउटी १४ बर्षे किशोरी त्यही खलकबाट जनयुद्धमा बन्दुक बोकेर हिँड्दा जहिँतहिँ हल्लाखल्ला भयो । राम्रो लगाउने र मिठो खाने रहरले अविभावकसँग पैसा माग्ने बेला आफ्नी साथी गीता रीजाल बन्दुक बोकेर हिँडेपछि साथीहरुपनि अचम्ममा परे । त्यो बेला घर परीवार, साथीसंगी र आफन्तले गीता भनेर चिन्ने उनी जनयुद्धकी ‘बबिता’ भईसकेकी थिईन् ।

‘त्यो बेलासम्म अविभावकसंग पैसा माग्ने होईन आर्थिक अभावमा पढ्न नपाएका विद्यार्थी र गरीव, दुःखि, भोका, नाङ्गा जनताका लागि लड्नु पर्छ भन्ने कुरा सिकेकी थिएँ’ उनले विगत सम्झँदै भनिन् ‘पूर्णकालिन हुनुभन्दा पहिला २०५६ सालमा अनेरास्वयू क्रान्तिकारी रामराज्य मावि इकाई कमिटीको सदस्य र कोषाध्यक्ष हुँदा यी कुराहरु सिकेँ ।’ २०५८ सालमा पुर्णकालिन कार्यकर्ता भएपछि जिल्लाका विभिन्न विद्यालयहरुमा गई विद्यार्थीलाई संगठित गराउन थालिन् । पूर्णकालिन भएपछि उनी अनेरास्ववियू क्रान्तिकारी जिल्ला कमिटी गुल्मीको सदस्यमा निर्वाचित भईन् । यो २०५८ सालको कुरा हो ।

विद्यार्थी, सेना, कलाकार हुँदै पार्टीमा………………………………..

त्यसपछि भने उनका जीन्दगीका कठीनतम यात्रा शुरु भयो । साथी- संगी, बा – आमाको काखमा रमाउँदा मिठो खाने, राम्रो लाउने रमाईलो गर्ने उमेरमा आफ्ना बा आमाको न्यानो काख छाडेर हिँडेकी बबिताले २०५८ सालको अन्यतिर जनमुक्ति सेना नेपाल मंगलसेन फस्ट ब्रिगेट २० औ बटालियन सदस्यमा रुपान्तरित भई विभिन्न ठाउँका तालिमहरु लिईन् । उनको फौजी यात्रा दाङस्थित भालुवाङ शशत्र प्रहरी बेस क्याम्पमाथिको आक्रमणमा सहभागी भएपछि शुरु भयो । ‘त्यसपछि प्युठान, अर्घाखाँची, रोल्पा, गुल्मी, बाग्लुङ लगायतका जिल्लाका विभिन्न स्थानहरुमा शाही नेपाली सेनाको भिडन्तहरुमा सहभागि भएँ’ उनले भनिन् ।

फौजी पछि उनकाे यात्रा साँस्कृतिक टिमतिर तय भयो । २०५९ सालमा रेसुङ्गा जनमुक्ति साँस्कृतिक परिवार गुल्मीको जिल्ला सदस्य भई जिल्ला बाहिर र भित्रका विभिन्न राजनीतिक कार्यक्रमहरुमा भुमिका निर्वाह गरीन् । ०६० सालसम्म साँस्कृतिक टिममा नै रहेकी उनी २०६१ मा भने पार्टी संगठन विस्तारको लागि संगठन विभागमा सरुवा भईन् । ‘समय परिस्थितिले कहिले जनमुक्ति सेनाको सिपाही बनायो, कहिले गित गाउने र नाँच्ने कलाकार बनायो’ उनी आफ्नो भूमिका गर्वका साथ भन्छिन ‘जनतालाई संगठित गर्ने संगठक बनायो, संगठनले महिला नेता बनायो र यो चरण मेरो लागि एक उच्च राजनीतिक पाठशाला बनायो ।’

जनताका लागि लड्दा भारतीय भूपू सैनिकले  सेनालाई बुझाए………………………………………..

पार्टी संगठनको जिम्मेवारी निभाउन उनी आफ्नै जन्मठाउँ ईश्मा पुगेकी थिईन् । सोही क्रममा उनको राजनीतिक संघर्षमा जटिल मोड आयो, २०६१ चैत्र १९ गते भारतीय भूपू सैनिककाे एक समूहले  त्यस क्षेत्रको संगठक टोलिलाई नै अपहरण गरी शाही नेपाली सेनाको ब्यारेकमा बुझाए । देश जनताको मुक्तिको लागि भनेर भोक भोकै हिँड्नेलाई जनताको नाममा भन्दै पक्राउ गरेको क्षण उनी चाहेर पनि विर्सन सक्दिनन् । आत्मसमर्पण गर्न नमानेपछि क्षेत्रिय कारागार पोखरा चलान गरी करिब १५ महिना बन्दी जीवन विताउँदा राज्यको आधिकारीक निकाय भएपनि आत्मसमर्पण गराउने नाममा सेना र जेलभित्र कारागार प्रशासनले महिला बन्दीप्रति गरेका ब्यवहारले पनि घोचिरहन्छ, पिराेलिरहन्छ ।

‘सेनाका अफिसर देखि सिपाहीसम्मले दिएको शारीरिक र मानसिक यातना, उनीहरुले प्रयोग गरेका शब्दहरु मेरा लागि यति कहालीलाग्दो र पिडादायी थियो कि बाँचेर यस्तो  जीवन बिताउन पाईएला भन्ने त कल्पना पनि थिएन’ उनि सम्झन्छिन् ‘शरिर कुनै अंग बाकिँ छैन, प्लास्टिकको पाइप र राइफलहरुले आक्रमण नगरेको, त्यो १५ महिने जेल जिवन कुनै शब्द ब्यवहार बाँकि रहेनन् तर त्यही क्षण मेरा लागि थप क्रान्तिकारी कार्यकर्ता बन्ने स्रोत बनेको छ ।’

१५ महिनाको जेल जीवनपछि उनी फर्कदा देशमा शान्ति प्रकृया शुरु भईसकेको थियो । त्यसपछि उनी फेरी निरन्तर पार्टी क्रान्तिमा छिन् । ‘पार्टीले स्वागत गरी इलाका कमिटी सदस्य प्रदान गरेको बेला मलाई यो सुनौलो संसार सँझेर धेरै आँशु आए’ उनले सझिन ‘त्यसपछि निरन्तर पार्टी क्रान्तिमै छु ।’

भोकै जुनकिरीको उज्यालोमा बन्दुक बोकेर हिँडेको सबैभन्दा रमाईलो

बालपनमै १४ बर्षको उमेर गीता रिजाल क्रान्तिको बाटो बुझाउन सक्ने एक क्रान्तिकारी महिला कार्यक्रता क. बबिताको नेतृत्वमा विद्यार्थी परिचालन भएको क्षण सम्झँदा उनलाई खुबै खुसी लाग्छ, निकै अविश्मरणीय लाग्छ ।  ‘भोकै, अनिधो जङ्गल, कठिन बाटो जुनकिरीसँगै अधेरी रातमा हिडेको, कहिले क्रान्तिकारी गित गाउदै, नाच्दै हिँडेको सम्झना नै जीवनको सबैभन्दा रमाईलो सम्झना हो’ उनी भन्छिन् – ‘हातमा राइफल बोकि विभिन्न जिल्लाका साथिहरुसँग लडाइका मोर्चाहरुमा सहभागि भई भालुवाङको भिडन्तमा सक्रिय भुमिका खेलेको क्षण कहिले विर्षन्न ।’ उनले त्यो चरण समाज, वर्ग राजनीति बुझ्ने मौका पाईन् त्यसैले उनको लागि यो सबैभन्दा सुखको क्षण पनि हो ।

क्रुर यातना भोगेर आएपनि उनी माओवादी आन्दोलनको स्वरुप फेरीएपछि शान्ति सम्झौता पश्चात उनी संगठनमै रहिन् । ‘देश र जनताको मुक्तिको लागि आमा बन्ने अवस्थामामा पनि गाउँ बेसी, सहर बजारमा प्रचारमा खट्दा देश र जनताको मुक्तिको लागि विशााल जिम्मेवारी बोधले होला कतै थकाई गलाई महसुस भएन्’ उनले भनिन् ‘म जस्ता १४ बर्षको उमेरको छात्राको त्याग र बलिदानी स्वरुप जनताका छोराछोरी राज्यको सर्वोच्व निकायमा पुग्ने र गाउँ गाउँमा सिँहदरबार ल्याउने गणतन्त्र नेपाल मेरो जीवनमा एक गौरवपुर्ण क्षण भएको महसुस गरेकी छु ।’

२०६५ सालमा अनेमसंघ क्रान्तिकारी जिल्ला अध्यक्षमा निर्वाचित उनी सोही वर्ष पार्टीको जिल्ला कमिटीमा पनि निर्वाचित भईन् । २०७० मा अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य र जिल्ला पार्टी सचिवालय सदस्य भईन् । २०७३ मा नेकपा माओवादी केन्द्र गुल्मीको सचिवालयमा पदोन्नति र हाल सोहि पदमा क्रिायशिल उनी विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत रही जनसेवामा क्रियाशिल छन् ।

अहिले जति महिलाहरुहले अधिकार पाएका छन्, जति विद्यार्थीले अधिकार पाएका छन् र जति गाउँ गाउँका जनताले अधिकार पाएका छन् यसमा उनको बलिदानीको पनि योगदान गरहेको छ । त्यसैले देशमा भएको परीवर्तन र अधिकारलाई संस्थागत गर्न फेरी एकपटक भूमिका दिन उनले मतदातालाई अनुरोध गरीन् । ‘मेरो हिँजोको योगदानले भोलीका लागि पनि भूमिका दिनुहुनेछ भन्ने आशा छ’ उनले भनिन् ‘राज्यको नीति निर्माण तहमा पुगेर अझै पनि पाएका अधिकारलाई कार्यान्वयन गराउन प्रतिवद्ध भएर लाग्ने ईच्छा छ ।’

जनयुद्धमा लागेकाहरुले राजनीतिक क्षेत्रमा माथिल्लो तहमा पुगेपनि सानै उमेरमा हिँडेकी आफ्नी छोरीले केही अवसर नपाएकोमा उनकी आमाको ठूलो चिन्ता थियो । तर छोरी समानुपातिक उम्मेदवार सिफारीस भएको हेर्न एक महिना मात्र बाँकी हुँदा आमाको देहावसान भयो । पार्टीले एकपटक मौका दिन्छ कि भन्ने आश लागेपनि आमालाई आफ्नो त्यो खुसी देखाउन नपाएकोमा गीतालाई ठूलो चिन्ता छ । ‘जनयुद्धमा जुनकिरीको उज्यालोमा हिँडेर नि ठूला युद्ध जितेजस्तै यो सिफारीसले पनि जनताको सेवा गर्ने ठूलो अवसर पाउने आशा लागेको छ’ उनी भन्छिन ‘तर आमा बाँचुन्जेल १४ वर्षमै उहाँको काख छाडेर हिँड्नुको सार्थकता देखाउन पाईन पाईन, दुःख लाग्छ ।’