आश्विन २०, २०८१ आईतबार

जनयुद्ध गरे तर ज्याला मजदुरी नगरी सुखै भएन रोल्पाली महिलालाई



रोल्पा – रोल्पा खुमेलकी सुमित्रा विक सदरकुमाम लिवाङमा गाडीबाट सामान लोड अनलोडको काम गर्छिन् । ३२ वर्षीया विकले केही वर्षयता सोही कामलाई निरन्तरता दिइरहेकी छिन् ।

तीन छोरीकी आमा विकको कमाइबाट घर खर्च चलेको छ भने दुई छोरीले विद्यालयमा पढिरहेका छन् । उनका श्रीमानले पनि लिवाङमै ज्यालामजदुरी गर्छन् । गाडीबाट सामान लोड अनलोडबाट सुमित्राको मासिक कमाइ रु १५ हजार पुग्ने गर्दछ ।

सदरमुकाममा रहेको उच्च माध्यमिक विद्यालयकी विद्यार्थी हुन दिलसरा डाँगी । हाल शिक्षा विषय लिएर कक्षा १२ पढ्दै गरेकी डाँगी बिहानी कक्षा लिएर दिउँसो गाडी लोन अनलोड गर्न जान्छिन् ।

पढ्नका लागि गाउँबाट सदरमुकाम आएकी दिलसराको आर्थिक अवस्था कमजोर रहेकाले दिउँसोको समय मजदुरी गर्न बाध्य छिन् । गाडी लोड अनलोडबाट रु १०/१५ हजार मासिक कमाइ गर्दै आएकी दिलसराले खर्च गरेर बचेको पैसा घर पठाउने गर्छिन् । बिहान विद्यालय गएर अध्ययन गरेपनि दिनभर मजदुरीमा जानुपर्ने बाध्यताले उनको पढाइलाई समेत असर गरिरहेको छ ।

भारत गएका श्रीमान् लामो समयसम्म फर्केर नआएपछि उषा परियारलाई चार छोराछोरीको पालनपोषणका लागि ज्याला मजदुरी नगरी सुखै भएन । श्रीमानको कमाइले छोराछोरी पाल्ने सपना देखेकी उषाले भारत पुगेका श्रीमानले पैसा पठाउनु त कहाँ हो कहाँ, श्रीमान् नै बेखबर भएपछि साना छोराछोरी बोकेर लिवाङ आउनुको विकल्प भएन ।

अचेल छोराछोरी विद्यालय पढाइरहेकी उषाले गाडी लोड अनलोड गरेर कमाएको पैसाले जेनतेन घर व्यवहार चलेको छ । उषाको मासिक कमाइ रु १५ हजारभन्दा बढी नै हुने गर्दछ ।सुमित्रा, दिलसरा र उषा रोल्पाली श्रमिक महिलाका प्रतिनिधि पात्र हुन् । भवन निर्माण, सडक निर्माण, पुल निर्माणजस्ता कार्यमा मात्र हैन गाडीमा लोड अनलोड गर्ने काममा समेत महिलामात्रै देखिन थालेका छन् ।

कडा शारीरिक श्रम गर्ने ठाउँमा महिलाको उपस्थिति बढ्दै गएको देखिएको छ । यसको मुख्य कारण पुरुषको विदेश पलायन भएको नेपाल निर्माण व्यवसायी संघ रोल्पाका अध्यक्ष मानबहादुर खत्री बताउनुहुन्छ । पुरुष जति वैदेशिक रोजगारीमा जाने भएकाले महिला ज्याला मजदुरीका लागि बाध्य भएका छन्, खत्रीले भने ।

विदेश गएका आफन्तको समेत राम्रो कमाइ नहुँदा रोजीरोटीका लागि महिला गह्रौँ शारीरिक श्रम गर्न बाध्य छन्, खत्रीले भने । पुरुषको तुलनामा महिलाले इमान्दारिताका साथ काम गर्ने भएकाले पनि निर्माण कार्यमा महिलाले प्राथमिकता पाउन थालेको खत्रीको बुझाइ छ ।

जिल्लामा अधिकांश महिलाले अदक्ष र जोखिमपूर्ण काम गर्ने भएकाले उनीहरुको शारीरिक सुरक्षा मुख्य चुनौतीका रुपमा देखिएको खत्रीले बुझाइ छ । विदेश गएका श्रीमान्को राम्रो कमाइ नहुने तथा कमाइ भए पनि घरमा पैसा नपठाउने समस्या रहेकाले रोल्पाली महिला कडा शारीरिक श्रमयुक्त काम गर्न बाध्य भएको महिला अधिकारकर्मी तीर्था आचार्यको बुझाइ छ ।

महिनावारी, गर्भवती र सुत्केरी अवस्थामा महिलाको शरीर निकै कमजोर हुने भए पनि रोल्पाका श्रमिक महिलाले त्यस्तो अवस्थामा समेत काम गर्न बाध्य भएको आचार्यको भनाइ छ । कडा शारीरिक श्रम गर्ने महिलाले पोषणयुक्त खानाको त के कुरा समयमै र पेटभरि खानसमेत पाउँदैनन् आचार्यले भनिन् ।

कडा शारीरिक श्रम गरी परिवार पाल्न बाध्य त्यस्ता महिलाका लागि सिपमूलक तालीमको व्यवस्था गर्नुपर्ने आचार्यको भनाइ छ । दैनिक १९ जना रोल्पाली रोजगारीका लागि खाडी जाने गर्दछन् । स्वदेशमा भरपर्दो राजगारी नपाएका कारण विदेशिने त्यस्ता रोल्पालीमध्ये ८० प्रतिशत बढी २० देखि ४० वर्ष उमेर समूहका छन् ।

श्रमयुक्त जनशक्ति विदेसीएसँगै रोल्पाका अधिकांश घरमा महिला बालबालिका र वृद्धवृद्धा मात्रै देखिने गर्दछन् । अदक्ष कामदारको रुपमा अधिकांश रोल्पाली विदेश जाने गरेका छन् । समयमा तलब नपाउने, तलब कम पाउने, समय समयमा बिरामी भइरहने समस्यासमेत रहेको बताइन्छ ।

पुरुष विदेश गएसँगै खेतबारी खनजोतको कामसमेत महिला र वृद्धवृद्धाले गर्नुपर्ने भार थपिएको छ ।