बैशाख १३, २०८१ बिहीबार

डा. विष्णुमाया विश्वका महाबाणिज्यदूतावासको संस्थाबाट सम्मानित



न्युयोर्क – नेपाली अधिकारकर्मी डा. विष्णुमाया परीयारलाई विश्वका महावाणिज्य दुतहरुको संगठन द सोसाइटी अफ फरेन कन्सुल इन न्यु योर्कले सम्मान गरेको छ । सिमान्तीकृत र दलितहरुको जीवनमा परीवर्तनका लागि योगदान गरेबापत परीयारलाई अन्तर्राष्ट्रिय महिला दिवशको अवसरमा सम्मान गरीएको हो ।

अमेरीकाको न्युजर्सीका मेयरकी सल्लाहकार रहेकी डा. परियार सिमान्तकृत र दलितहरुको जीवनमा परिवर्तनका लागि काम गर्दै आएको संस्था एड्वानकी संस्थापक तथा मुख्य संरक्षक हुनुहुन्छ, जसले झण्डै १५ हजार बालबालिका, ३४ हजार भन्दा धेरै दलित र सिमान्तकृत महिला तथा उनीहरुका परिवारलाई सहयोग गरिसकेको छ ।

न्युयोर्कको म्यानहटन स्थित बोहिमिटन हलमा आयोजित सम्मान कार्यक्रममा बोल्दै नेपाली महाबाणिज्यदूत मधुकुमार मरासिनीले डाक्टर बिष्णुमाया परियारले सामाजिक क्षेत्रमा दिएको योगदानको चर्चा गरे । सम्मानित भइसकेपछि डाक्टर परियारले यस्तो सम्मानबाट आफूलाई सामाजिक क्षेत्रमा सकृय रहन थप प्रेरणा मिलेको बताईन ।

अल्जेरिया, बंगालादेश, बार्बादोस, बुल्गेरिया, जर्जिया, हैटी, हंगेरी, भारत, जमैका, कोसोभो, मेक्सिको, पाराग्वे, फिलिपिन्स, रसिया, साउदी अरेबिया, टर्की, थाइल्याण्ड लगायतका देशका महावाणिज्यदूतहरुको उपस्थीति रहेको कार्यक्रमको सुरुवातमा साउदी अरेबिया र चेक रिपब्लिकका महावाणिज्यदूतहरुले मन्तब्य दिएका थिए भने कार्यक्रमको संचालन हंगेरीका भाख्तांग गोग्साडेजले गरेका थिए ।

यसवर्ष जर्जिया र साउदी अरेबियाका महावाणिज्यदूतावासले मुख्य अभिभारा लिएको कार्यक्रममा विभिन्न देशका सांस्कृतिक प्रस्तुतीहरु पनि देखाइएको थियो ।

सन् १९२५ मा स्थापित संस्था द सोसाइटी अफ फरेन कन्सुल इन न्यु योर्क न्युयोर्कमा रहेका विश्वका १ सय ५५ देशका महावाणिज्यदूतहरु आवद्ध साझा सँस्था हो । जसका बर्तमान अध्यक्ष साउदी अरेबियाका महावाणिज्यदूत खालिद अल्सारिफ हुन् ।