बैशाख १, २०८१ शनिबार

निर्मला बलात्कार र हत्या प्रकरण : प्रहरीले नक्कली अभियुक्त सार्वजनिक गरेको भन्दै प्रदर्शन



कञ्चनपुर – १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै घटनापछि भीमदत्त नगरपालिकाका बासिन्दाले निरन्तर आन्दोलन गर्दै आए । आन्दोलनकै दबाबमा घटनाको २६ दिनपछि सोमबार प्रहरीले भीमदत्त–१९ बागफाँटका ४१ वर्षीय दिलीपसिंह विष्टलाई मुख्य अभियुक्त किटान गर्दै सार्वजनिक ग-यो । तर, प्रहरीले सार्वजनिक गरेको अभियुक्त बलात्कारी र हत्यारा भएकामा आन्दोलनरत स्थानीय सशंकित बने । प्रहरीले आफूहरूलाई झुक्याएको निष्कर्षमा उनीहरू पुगे । मंगलबार आन्दोलन झन् चर्कियो ।

सोमबार दिनभर आन्दोलन र झडप
नक्कली अभियुक्त सार्वजनिक गरेर दोषीलाई उन्मुक्ति दिन खोजेको आरोपमा पीडित परिवार र स्थानीय झन् आक्रोशित भए । उनीहरूले मंगलबार बिहानैदेखि महेन्द्रनगरमा बजार र यातायात बन्द गरेर प्रदर्शन गरे । आन्दोलनका अगुवा यज्ञराज पाण्डेले प्रहरीले सार्वजनिक गरेका व्यक्ति अपराधी नभएको दाबी गरे । ‘घटनाका वास्तविक दोषीलाई उन्मुक्ति दिन प्रहरीले घटनामा संलग्न नभएकालाई दोषी भन्दै सार्वजनिक गरेको छ,’ उनले भने, ‘वास्तविक दोषीलाई पक्राउ गरेर कारबाही नभएसम्म आन्दोलन रोकिँदैन ।’

आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयको मूलगेटमा प्रदर्शन गरे । उनीहरूले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, कञ्चनपुर प्रहरी प्रमुखलगायतको राजीनामा मागे । प्रदर्शनमा सहभागी केहीलाई प्रहरीले नियन्त्रणमा लियो । प्रशासन कार्यालयको गेटमा तोडफोड गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरिरहेका आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले ३० राउन्ड अश्रुग्याससमेत प्रहार ग-यो । झडपमा पाँच प्रहरीसहित एक दर्जनभन्दा धेरै घाइते भएका छन् ।

कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर सेठीले पाँच प्रहरी र केही आन्दोलनकारी घाइते भएको बताए । भीमदत्त नगरपालिका–१८ की ३३ वर्षीया मञ्जु गिरी, बेदकोट नगरपालिका–३ का बलदेव जोशीलगायत घाइते भएका छन् । प्रहरी हवल्दारद्वय देवसिंह कुँवर र बलदेव बडू, प्रहरी जवान प्रेमबहादुर खड्का, दमन महरा र मीना शाही घाइते भएका छन् । घाइेते गिरीलाई महाकाली अञ्चल अस्पताल रेफर गरिएको छ ।

वास्तविक दोषी सार्वजनिक गर्न माग
भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त १० साउनमा साथीको घरबाट फर्किंदै गर्दा बलात्कृत भएकी थिइन् । बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव बाटो छेवैको उखुबारीमा भेटिएको थियो । तर, लामो समयसम्म अनुसन्धानमा बेवास्ता देखाएको प्रहरीले चर्को दबाबपछि नक्कली अभियुक्त सार्वजनिक गरेर घटना सामसुम पार्न खोजेको पीडित पक्षको गुनासो छ । उनीहरूले वास्तविक दोषी सार्वजनिक गर्न माग गरेका छन् ।

बालिकाका वास्तविक हत्यारा सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा धर्ना, हस्ताक्षर र रिले अनसन मंगलबार पनि जारी राखेका छन् । आमा समूह, महिला अधिकारकर्मी र नागरिक समाजले आ–आफ्नै तरिकाले आन्दोलन जारी राखेका हुन् । नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारी नेतृत्वको समिति जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूलगेटमा रिले अनशनमा छ ।

प्रहरी भन्छ : दोषी दिलीप विष्ट नै हो
कञ्चनपुर प्रहरीले भने निर्मलाका हत्यारा दिलीप विष्ट नै भएको दाबी गरेको छ । सिआइबी, प्रादेशिक, जिल्ला र स्थानीय प्रहरीको प्रारम्भिक अनुसन्धानबाट निर्मलाका हत्यारा विष्ट नै भएको खुलेको कञ्चनपुर प्रहरीको दाबी छ । आफ्नै भिनाजुको हत्या गरेर जेल सजाय भुक्तान गरेका विष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको प्रहरीले सार्वजनिक गरिसकेको छ । प्रदर्शन र नाराबाजीले अनुसन्धानमा समस्या हुने भन्दै प्रहरीले प्रदर्शन रोक्न आग्रह गरेको छ । कञ्चनपुर प्रहरीले विष्टलाई थप अनुसन्धानका लागि अदालतबाट १० दिनको म्याद थप गरेको छ ।