बैशाख ११, २०८१ मंगलबार

राजनीतिक दलले ‘अन्यायपूर्वक’ प्रहरी महानिरीक्षक बन्न रोकेकी पूर्वडीआईजी पार्वती थापा राजनीतिमा



काठमाडौं – योग्यता पुगेर पनि महानिरीक्षक हुनबाट बञ्चित गरिएकी नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा संघीय समाजवादी फोरममा प्रवेश गरेकी छन् ।

नायब प्रहरी महानिरीक्षक (डीआईजी ) बाट अवकाश पाएकी थापा औपचारिक रुपमा आफ्नो पार्टीमा प्रवेश गरेको संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले थापा बताइन् ।

थापा नेपाल प्रहरीको इतिहासमा महानिरीक्षकको योग्यता पुर्‍याउने पहिलो महिला भएपनि राजनीतिक दलहरुले उनीभन्दा ११ महिनाले जुनियर उपेन्द्रकान्त अर्याललाई महानिरीक्षक बनाएका थिए ।

इतिहास रच्ने अवसरको नजिक पुगेर पनि राजनीतिक दलका कारण बञ्चित भएकी थापाले आफु अर्याल भन्दा डेढ वर्ष सिनियर भएपनि महिला भएकै कारण आफ्नो बढुवा नभएको तर्क गर्दै
न्यायालयको ढोका ढक्ढकाउन पुगेकी थिइन् ।

०७० साल कात्तिक २६ गते सर्वोच्चमा रिट दायर गरेपनि सर्वोच्वले चार वर्षपछि मात्र पार्वतीको रिट खारेज गरेको थियो ।

अर्यालपछि आइजीपी बनेका जयबहादुर चन्दको विरुद्धमा डीआईजी नवराज सिलवालले दायर गरेको रीटमा भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको विशेष सक्रियतामा डेढ महिनामै फैसला भएको थियो । तर कार्कीले पनि आफू प्रधानन्यायधिश हुँदा पार्वतीको मुद्धामा फैसला गरिनन् ।

अवकासको लामो समयसम्म चुपचाप बसेकी थापा तर अवकासको पाँच वर्षपछि उनी सक्रिय राजनीतिमा प्रवेश गरेकी हुन् । पार्टी प्रवेश गर्नुको कारणबारे भने उनले केही खुलाएकी छैनन् ।

पार्टी प्रवेश गरेकी थापालाई कुन जिम्मेवारी दिइएको छ भन्नेबारे भने फोरमले केही बताएको छैन ।