बैशाख १३, २०८१ बिहीबार

छोरीसँग एसईई दिँदै शान्ता चौधरी



प्रतिनिधिसभा सदस्य शान्ता चौधरी यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै छिन् ।

गत २०७३ सालमा दाङको डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो ।

कक्षा ८ र ९ मा औपचारिक रूपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन्। अनि खुला विद्यालयमा भर्ना भइन् ।

उनी यस पटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसईईको परीक्षा दिँदै छिन् । ‘यसपालि त म छोरीसँग परीक्षा दिँदैछु’, उनले हाँस्दै भनिन्, ‘ममी कसको नम्बर धेरै आउँछ है भन्दै छोरीले जिस्काउँछिन्, मलाई डर लाग्छ ।’ 

नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययनरत चौधरी (सिम्बोल नं ०५८८४५३ भी) को सेण्टर मावि तुलसीपुरमा परीक्षा केन्द्र तोकिएको छ । उनकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल वसुन्धरा, काठमाडौंबाट परीक्षा दिँदै छिन् ।

नेकपा संसदीय दलका सचेतक चौधरीले भनिन्, ‘व्यस्तताका कारण नियमित कक्षा जान पाइनँ, सानोमा पनि पढ्ने बानी भएन । त्यसैले अहिले मेहनत धेरै गर्नुपरेको छ ।’

बाल्यकालदेखि विद्यालय देखे पनि जान नपाएको र किताब छोए पनि पढ्न नपाएको उनको गुनासो छ । सामाजिक काम गर्दागर्दै राजनीतिमा पुगेकी नेत्री चौधरीलाई पछिल्लो समय पढ्नैपर्ने बाध्यता आइलाग्यो । नेताहरू पढ्दैनन् भन्ने भनाइले उनलाई पटक पटक घोच्यो र विद्यालयमा भर्ना भइन् ।

विसं २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उनले पढाइको महत्व बुझिन् र पढ्नतिर लागिन्।

केही वर्ष स्वाध्ययन गरेपछि औपचारिक शिक्षा र प्रमाणपत्र लिएरै पढाइ पूरा गर्ने रहर लागेपछि अप्ठेरो नमानेरै विद्यालयमा भर्ना भएको उनी बताउँछिन् ।

शुरु–शुरुमा कक्षा ८ र ९ मा नियमित विद्यालय पनि गइन् । डाँडागाउँ माविमा कक्षामा बसेका र पढेका साना भाइबहिनी घरमा आएर जिस्काउँदा उनलाई अचम्म लाग्छ । ‘उनीहरू कसको ग्रेड धेरै आउँछ है, हाम्रो त प्रतिस्पर्धा हुन्छ है’, भन्दै हाँस्छन् ।

उनीहरूको हँसाइले आफूलाई झन् पढ्नु पर्दो रै’छ भन्ने सांसद चौधरीलाई लाग्छ । उनलाई सबैभन्दा सजिलो नेपाली र सामाजिक विषय लाग्छ भने गणित र विज्ञान अप्ठेरो लाग्छ ।

अंग्रेजीमा उनी बोल्न त सक्छिन् तर व्याकरण मिलाएर लेख्न भने अप्ठेरो लाग्छ । एसईईपछि माथिल्लो कक्षामा ग्रेड अनुसारको विषय छान्ने उनको धोको छ ।

जसरी भए पनि पढाइ भने नछाड्ने उनी बताउँछिन् । अठ्तीस वर्षीया चौधरीलाई सकभर स्नातकोत्तर अझ विद्यावारिधि गर्ने धोको छ ।