बैशाख ११, २०८१ मंगलबार

शान्ता चाैधरीले छाेरीसँगै एसइई दिन थालिन्



दाङ – प्रतिनिधिसभा सदस्य शान्ता चौधरी छाेरीसँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएकी छन् ।

आज देखि शुरुभएको परीक्षामा शान्ता तुलसीपुर स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरबाट परीक्षा दिँदै छिन् ।

उनकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल बसुन्धरा, काठमाडौँबाट परीक्षा दिँदै छन् ।

२०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाई सुरु भएको थियो ।

नेकपाकी सचेतक समेत रहेकी चाैधरीले आफ्नो बाल्यकालदेखिको पढ्ने धोको पूरा भएको बताउँदै चौधरीले एसइइ मात्रै होइन बुढेसकालमा भए पनि पिएचडी गर्ने सपना सुनाइन् ।

‘मेरो बाल्यकालको सपना बल्ल पूरा हुँदैछ’ उनले भनिन्, ‘मेरो सपना त बुढेसकालमा भए पनि पिएचडी गर्ने हो । हेरौँ परीक्षामा नतिजा कस्तो आउँछ ।’

कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन् । उनी खुला विद्यालयमा भर्ना भएकी हुन् ।

उनी यसपटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसइइको परीक्षा दिँदै छिन् ।

विसं २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उनले पढाइको महत्व बुझिन । र कक्षा आठमा भर्ना भएकी हुन् ।