बैशाख १, २०८१ शनिबार

क्रियाशिल पत्रकार महिलाकाे संघर्ष पुस्तकमा



काठमाडौं– पत्रकारिता क्षेत्रमा क्रियाशिल १५ महिला पत्रकारको विषयमा लेखिएको पुस्तक ‘क्रियाशिल पत्रकार महिला’ सार्वजनिक भएको छ।

क्रियाशिल महिला पत्रकारले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक उपेन्द्र शर्मा, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्ट, नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले  पुस्तक सार्वजनिक गरे।

पुस्तकमा लामो समय पत्रकारितामा सक्रिय पत्रकार महिलाको अनुभव, सफलता र चुनौतीका कुरा समावेश छन्।

कार्यक्रममा राष्ट्रिय सभा उपाध्यक्ष दाहालले महिला पत्रकारलाई सम्मान गरेर हौसला प्रदान गर्नु सराहनीय भएको बताइन्।

‘लामो समयदेखि महिला पत्रकारको भूमिकाको कदर भएकोमा निकै खुसी लागेको छ। महिला पत्रकारका कथा, व्यथा फरक छन्’, दाहालले भनिन्, ‘पत्रकारिता जगतमा योगदान पु-याउने महिला पुरुष दुवै बराबर हो। हामी हातेमालो गरी अगाडि बढेर उद्देश्यमा पुग्न सक्छौं।’

राससका महाप्रबन्धक शर्माले पत्रकारिता जगतमा योगदान पु-याएका महिलाहरूको विषयलाई उठान गरिएको पुस्तक प्रोत्साहनको रूपमा काम गर्ने बताए।

उनले समाज रूपारन्तरण र चेतना फैलाउन मिडियाको ठुलो हात रहेकोे बताउँदै पुस्तकले पत्रकारितामा भविष्य बनाउन चाहने पत्रकार महिलालाई धेरै जानकारी दिने जनाए।

पत्रकार महासंघका महासचिव विष्टले महिला पत्रकारको सहि अभिलेख नराख्नु बिडम्बना रहेको बताए। उनले पुस्तकले काठमाडौंका मात्र नभई जिल्लाका पत्रकार महिलालाई पनि समाबेश गर्नुपर्नेमा जोड दिए।

क्रियाशिल पत्रकार महिलाका अध्यक्ष अमिका राजथलाले पत्रकारिता जगतमा महिलाहरूका लागि हौसला मिलोस् भनेर पुस्तक प्रकाशन गरिएको बताइन्।

पुस्तकमा निर्मला आचार्यको लेखन, संगीता लामाको सम्पादन र अम्बिका राजथलाको संयोजन छ। पत्रकार महिलाहरू अञ्जना ताम्ली, आरती चटौत, उषा तितिक्षु, निर्मला आचार्य, अक्षरी पोखरेल, प्रेमकुमारी पन्त, बबिता बस्नेत, रम्यता लिम्बु, रमा पराजुली, राधा बुढाथोकी, रीता गुरुङ, लिला शाह, संगीता लामा, सरला संग्रौला र हरिकला अधिकारीका संघर्षका कथा पुस्तकमा समेटिएका छन्।