चैत्र १५, २०८० बिहीबार

तीन तलाकको त्रास



हरेक राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थनीति, चालचलन, गीत, नृत्य, वाद्यवादन, चाडबाड, जात्रा, कला आदिमा प्रतिविम्बित हुने तथा तिनका कलाकौशल, बौद्धिक विकास आदि झल्काउने सम्पूर्ण क्रियाकलापको परिष्कृत रूपलाई संस्कार भन्ने गरिन्छ ।

चीर कालदेखि देशकाल सापेक्ष भई आन्तरिक, वैचारिक एवं परम्परागत धारणाका रूपमा विकसित हुँदै आएको तथा जीवनशैलीमा पचिसकेको रहन–सहन, आचार–विचार सम्बन्धी भावना र तिनका माध्यमबाट कुनै राष्ट्र, वर्ग, समाज, जातिआदिको पहिचान गराउने मूल्य–मान्यता, भौतिक अभिव्यक्ति, परम्परित, रीतिरिवाज, चालचलन,धर्म, संस्कार, आस्था, व्यवहार, इतिहास, पूर्वजन्म, पुनर्जन्म, कर्म, भाग्य, ईश्वरीयता, लोकोक्ति, लोकप्रचलन आदिको सामूहिक नाम नै संस्कार हो । कला, भाषा, साहित्य, दर्शन, धर्म, नीति, इतिहास आदि विभिन्न विषय पनि संस्कारभित्र समेटिन सक्छन् । मानिसलाई अनुशासनभित्र रहन प्रेरितगर्नु नै संस्कारको अभीष्ट भएकाले यो कर्म पनिहो र आस्था पनि ।

संस्कार कुनै जातिको सिर्जनात्मक खुबीको परिचायक र समाजका निम्ति अनियन्त्रणीय आवश्यकता पनि हो । आफ्नो संस्कारमा हरेक मानिसले सन्तुष्टि, सुनिश्चितता र स्थायित्वका साथै जीवनयापनमा सहजता प्राप्त गर्न सक्छ । यसको निर्माण एक दिनमा नभएर सामाजिक–ऐतिहासिक विकासक्रममा खास समाजको सामूहिक व्यवहारका अनुभवका आधारमा हुन्छ र निरन्तर अविच्छिन्न सांस्कारिक परम्परा स्थापित हुँदै जान्छ ।

कुनै व्यक्तिको भौगोलिक अवस्थिति, रहन–सहन, लवाइ–खवाइ, शिक्षादीक्षा आदिजस्ता सन्दर्भले संस्कार निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् । यिनै कारणबाट सांस्कारिक विविधताको जन्म हुन्छ । समयसँगै परिवर्तनशील हुनाका साथै संस्कार एक पुस्ताबाट अर्को फुस्तामा हस्तान्तरणीय हुने गुणयुक्त हुन्छ । समयत्रममा देखिने राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा देखापर्ने राजनीतिक–आर्थिक घटना तथा परिवर्तनले पनि संस्कारलाई प्रत्यक्ष प्रभाव पार्छन् ।

सामाजिक प्रचलनबोधक संस्कारलाई वैभिन्य तुल्याउन स्थान, समय, जात, धर्म आदिले पनि महत्त्वपूर्ण भूमिका खेल्छन् । कुनै ठाउँ, समय, जात र धर्मको संस्कार अर्को ठाउँ, समय, जात र धर्मका लागि बेठिक, विपरीत र अस्वीकार्यसमेत हुने देखिन्छ । यसका साथै राम्रो–नराम्रो, असल–खराब, ठिक–बेठिक भन्ने कुरा पनि समय एवं स्थान सापेक्षित हुन्छन् ।

कुनै स्थान वा जाति विशेषको संस्कृति अर्को स्थान वा जाति विशेषका लागि अनौठो र अग्राह्य हुन पनि सक्छ । तापनि सत्य, अहिंसा, परोपकार, त्याग, बलिदान, मानवतावादी भावनाजस्ता विषय–वस्तुमा आधारित संस्कारचाहिँ सर्वपक्षीय, सर्वजातीय, सर्वराष्ट्रिय, सार्वभौम र सार्वकालिक हुन्छ । अझ स्पष्ट रूपमा भन्दा मानवतावादी आदर्श बोकेको संस्कार नै सबैभन्दा महत्त्वपूर्ण, दीर्घजीवी, शाश्वत् तथा सत्यका निकट हुन्छ ।

संसारमा चलेका अनेक संस्कारमध्ये इस्लामिक कानुनमा रहेको तीन तलाकको प्रथा पनि एक हो । पितृसत्तात्मक मानसिकताको बोलवाला रहेको मुस्लिम समुदायमा धर्म, रीतिरिवाज वा परम्पराको आडमा महिलामाथि अनेक प्रकारका कुप्रथा थोपरिएका छन् । एक्काइसौँ शताब्दीको विद्युतीय सञ्चारको युगमा समेत कुनै पनि दृष्टिबाट औचित्य पुष्टि गर्न नसकिने अनि त्यसका बारे सकारात्मक व्याख्या गर्न नसकिने अति हास्यास्पद र उदेकपूर्ण संस्कार मुस्लिम महिलाले बेहोर्दै आएका छन् ।

कुनै पतिले आफ्नी पत्नीलाई छोड्न चाह्यो भने वा उसले वैधानिक रूपमै सम्बन्धविच्छेद गर्न चाह्यो भने तीन पटकसम्म मौखिक रूपमै ‘तलाक’ उच्चारण गरे सम्बन्धविच्छेद हुने कुप्रचलन मुस्लिम समुदायमा छ । धार्मिक मान्यतामा आधारित भनिएको यस तीन तलाकको व्यवस्थाले लामो समयदेखि महिलाहरू अन्यायमा परेक छन् । यस्तो कुप्रथा महिलामाथि हुने गरेका अपमानको पराकाष्ठा हो ।

यस्तो अमानवीय क्रियाकलापको प्रावधान कुरानमा नै भएको हवाला दिँदै नेपालमा पनि मुसलमान युवकहरूले आफ्ना पत्नीलाई तलाक दिने गरेको पाइन्छ । अझ केही समययता वैदेशिक रोजगारमा रहेका युवकहरूले टेलिफोन गरी उतैबाट तलाक दिनथालेको तथ्यबाहिर आएको छ ।

राज्यले सबै धर्म, जाति एवं संस्कारको सम्मान गर्नुपर्छ । तर सिङ्गो मानवकै उपहास गर्ने यस्ता संस्कार नामधारी कुरीतिलाई चाहिँ जरैदेखि उखेलेर फाल्नुपर्छ । पहिलो कुरा यो व्यवस्था धार्मिक ग्रन्थ कुरानमा उल्लेख नभएको तथ्य बाहिर आइसकेको छ ।

तीन तलाक प्रथा विरुद्ध विधेयक पास गर्ने क्रममा लामो समयको अध्ययन र विभिन्न धर्मका गुरुकै गहन परामर्शबाट यो प्रावधान कुरानको मूल भावना र मर्म विरुद्ध भएको भन्दै यसलाई अवैधानिक र अमान्य ठहर गर्दै पुरुषले महिलामाथि निर्मम रूपले थोपर्ने यस खाले एकतर्फी अन्यायलाई भारतको सर्वोच्च अदालतले अवैधानिक घोषणा गरिसकेको छ । पीडित मुस्लिम महिलालाई मुक्ति दिने सर्वोच्च अदालतको प्रशंसित तीन तलाक खारेजीको वर्तमान फैसलाको सर्वत्र स्वागत गरिएको छ ।

अर्कोतर्फ यो धर्मशास्त्र भित्रकै व्यवस्थाहो भने पनि समय–सापेक्ष ढङ्गले धर्मशास्त्रएवं संस्कार परिष्कार गर्दै जानुपर्छ । यस्ताविवेकहीन, लज्जास्पद एवं मानवता विरोधी क्रियाकलापको अन्त्य तुरुन्तै हुनुपर्छ । नेपालमा केही समयअघि प्रचलनमा रहेको सतीप्रथा ररजस्वला नहुँदै छोरीको कन्यादान गर्नुपर्ने सन्दर्भपनि संस्कारकै रूपमा व्याख्या गरिन्थे । तरयस्ता कुप्रथा हाम्रा अहिलेका छोरीहरूका लागि एकादेशको कथा बनिसकेका छन् ।

अझ हास्यास्पद कुरा त इस्लामिक कानुन अवलम्बन गर्ने मुस्लिम राष्ट्रको रूपमा परिचित पाकिस्तान र बङ्गलादेशमा ‘तीन तलाक’को प्रावधान खारेज भइसक्दा पनि नेपालमा चाहिँ यस्तो कुरीतिको अवशेष देखिनु विवेकहीनता एवं लज्जाहीनताको पराकाष्ठा हो । किनकि संस्कार भनेकै मानव समाजले आफ्नो जीवनलाई विवेकशील, सुखमय र समृद्धिपूर्ण बनाउनका लागि हो, कसैलाई अन्यायको जाँतोमा पिस्न र अपमान गर्न होइन ।

यस उद्देश्य पूर्तिका निम्ति मानवको भौतिक वा आत्मिक विकासका निम्ति संस्कारहरूको निर्माण र विकास गर्ने हो । संस्कारहरूको निर्माणका क्रममै उसले पुराना एवं मानवता विरोधी क्रियाकलाप त्याग गर्दै समय–सापेक्ष आवश्यक क्रियाकलाप थप्दै जानुपर्छ र परम्परालाई निरन्तरता दिँदै जानुपर्छ । अन्यथा यो सुन्दर धर्ती बर्बर बस्तीमा परिणत हुन बेर लाग्दैन ।

नेपालका थुप्रै महिला यसबाट पीडित छन् भन्ने तथ्य बाहिर आइसकेपछि पनि सम्बन्धित समुदायको हकहितका लागि खोलिएका सङ्घ–संस्था निष्क्रिय देखिनु विडम्बना नै हो । अझ महिला आयोग तथा महिलाको हकहितका लागि आवाज उठाउनेहरूले यस खाले क्रियाकलापलाई गम्भीरतापूर्वक लिएर कारबाही अघि बढाउन ढिलो भइसकेको छ ।

यस्ता कुप्रथाहरू निमिट्यान्न पार्नाका लागि राज्यले हस्तक्षेपकारी भूमिका खेलेर दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ । यसका लागि पर्याप्त कानुनी व्यवस्था नभए तुरुन्तै नीति–नियम बनाएर यस प्रकारका अपराध रोकेर मुस्लिम समुदायका महिलालाई मानवका रूपमा जिउन सक्ने वातावरणको सिर्जना गर्नुपर्छ । कान्तिपुरबाट