फाल्गुन १२, २०७७ बुधबार

अस्पतालभित्र हुर्किएको अन्तरजातिय प्रेम : कतिखेर माया बस्यो पत्तै भएन



काठमाडौँ — करिब ५ वर्षअगाडि टेकु अस्पतालमा ट्रेनीका रूपमा आएकी लिजा तामाङलाई अस्पताल नै आफ्नो प्रेमको सुत्रधार बन्छ भन्ने थाहा थिएन, न थाहा थियो डा. किजन महर्जनलाई ।

मेडिकल अफिसर थिए किजनसँगल पहिलो भेट टेकुमा भयो । सामान्य चिनापर्चीबाहेक खासै बाक्लो बोलचाल थिएन । ६ महिनाजति पछाडि ल्याब टेक्निसियनको पढाइ सिध्याएर लिजा २०७३ तिर वीर अस्पतालमा ‘भोलेन्टियर’ गर्न थालिन् । संयोगवश त्यति बेलै किजन पनि वीरमै आफ्नो एमडीको पढाइ गरिरहेका थिए । टेकुबाट सुरु भएको सम्बन्ध वीरमा पुगेपछि बिस्तारै झाँगिन थाल्यो । चिनजान चियागफमा बदलियो।

लिजाले लजाउँदै सुनाइन्, ‘बोल्दाबोल्दै कतिखेर माया बस्यो पत्तै भएन ।’ तर दुवैले मनमनै एकअर्कालाई स्विकारिसकेका थिए । करिब एक वर्षपछि उनीहरूले बिहे गर्ने निधो गरे ।

दुवैको मन मिले पनि परिवारको मन मिलाउन गाह्रो थियो । अन्तरजातीय सम्बन्ध सहजै रुचाइने सवालै थिएन । दुवै परिवारमा बहस–विवाद चल्यो, अरू अन्तरजातीय सम्बन्धहरूमा जस्तै ।

लिजाको घरमा अर्कै केटासँग कुरा चलिरहेको रहेछ । तर उनले जसरी पनि परिवारलाई फकाइछाडिन् । ‘सानैदेखि मामाघरमा बसेर हुर्केकी म । सुरुमा हजुरबा र हजुरआमाले मानिरहनुभएको थिएन । ऊसित बाहेक अरूसित बिहे नगर्ने ढिपी कसेर बसेपछि मान्नुभयो,’ यति भन्दा लिजा मुस्कुराइरहेकी थिइन् । किजनको परिवारले पनि सुरुमा अप्ठ्यारो मानेको थियो । अन्ततः उनीहरू पनि राजी भए ।

माघ १४ गते सरकारले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकलाई कोरोनाविरुद्धको खोप लगाउन अभियान सुरु गर्‍यो । लिजा केही साइड इफेक्ट गर्छ कि भनेर सुरुमा लगाउन हिचकिचाइन् । तर डा. किजनले सम्झाएपछि उनी राजी भइन् । ‘फ्रन्टलाइनरलाई सुरुमा खोप लगाउने मौका दिइयो, लगाउन पाउँदा डर हटेजस्तो अनुभव भएको छ,’ किजन भन्छन् ।

लिजा यही जेठदेखि मात्र टेकु अस्पतालमा स्टाफका रूपमा काम गर्न थालेकी हुन् । त्यति बेला नेपालमा कोरोना क्रमशः फैलँदै थियो । यस्तोमा दुवैका परिवारले अस्पतालको काम छोडिदिनसमेत भने । ‘यस्तो जोखिमको बेला पनि काम गर्छन् रु भनेर रोक्न खोज्नुभएको थियो तर ड्युटी नै धर्म हो भनेर सम्झाउँथेँ,’ लिजाले परिवारको माया सम्झिइन् ।  कोरोना महामारीले उग्र रूप लिइरहँदा पीसीआर गराउनेको त्यो लामो लाइन र भिड अझै मस्तिष्कमा दौडिरहने गरेको किजन बताउँछन् । ‘पीसीआर गराउनकै लागि त्यो लामो लाइन अनि पालो पाउन भुइँमा सुतेको देख्दा एकदम माया लाग्थ्यो,’ उनले भने ।

आफ्ना ८२ वर्षीय हजुरबालाई कोभिड ‘पोजिटिभ’ हुँदाको क्षण पनि बिर्सिन सक्दैनन् किजन । हजुरबालाई कोभिड आईसीयू वार्डमा राखिँदा ७ घण्टासम्म पीपीई लगाएर बसेको सुनाए ।

लिजाले पीसीआर परीक्षणका लागि रगत संकलन गर्न दौडधुप गरिराख्नुपर्थ्यो । ‘पीपीई लगाएर सफोकेट भएर बस्नुपथ्र्यो । पिसाब च्यापेर राख्नुपर्ने । हामी गाह्रो भएर रुन्थ्यौं पनि,’ उनले पीडा सुनाइन् । महामारीका बेला बिरामीलाई सम्झाउन पनि निकै गाह्रो काम थियो । लिजासँग कोरोनाले जुराइदिएका राम्रा पल पनि रहेकाे कान्तिपुरमा बुनु थारूले लेखेकी छन्। ८२ वर्षीया बिरामी थिइन्, आईसीयूमा । उनको व्यवहार लिजालाई अहिले पनि याद आइरहन्छ । ‘ती आमा रगत संकलनका लागि छोरी तिमी नै आऊ भन्नुहुन्थ्यो । अरूले दुखाउँथे रे,’ उनले भनिन् ।

फ्रन्टलाइनमा खटिए पनि किजनलाई कोरोना देखिएको छैन । लिजा भने संक्रमित भइन् । ‘दसैंको टीकाको दिन मेरो १४ दिने आइसोलेसन बसाइ सिद्धियो । धन्न टीका थाप्न पाएँ,’ उनले सुनाइन् । लिजाका अनुसार उनलाई जिउ दुख्ने, हल्का खोकी, बास्ना हराएजस्तो हुनेबाहेक अरू लक्षण देखिएन । यसपालि गाउँ गएर हजुरबा–हजुरआमासित टीका थाप्न नपाएकोमा भने उनलाई खल्लो अनुभव भएको थियो ।

अस्पतालमा सँगै काम गर्नुमा छुट्टै मजा रहेको लिजा र किजन सुनाउँछन् । ‘सँगै काम गर्दा सुरक्षा र सहयोगको अनुभति हुँदो रहेछ, म त एक छिन पनि छुट्टिएर बस्न सक्दिनँ । उहाँको अन्तै पोस्टिङ भयो भने म पनि छोडेर सँगै जान्छु होला,’ यति भन्दा उनी जोडले हाँसिन् ।

किजनलाई लिजाको ख्याल राख्ने बानी मनपर्छ । ‘नराम्रो बानी भनेको त ऊ छिट्टै रिसाउँछ,’ उनले लिजातर्फ हेर्दे भने । लिजालाई भने किजनको अल्छी गर्ने बानी मन पर्दैन । भन्छिन्, ‘सोझो, ज्ञानी हुनुहुन्छ । धेरै नबोले पनि सपोर्टिभ हुनुहुन्छ । बिहेको ३ वर्ष भयो, परिवर्तन हुनुभएको छैन ।’ दुवै काममा व्यस्त हुने भएकाले सँगै घुमघाम गर्ने मौका खासै जुरिरहेको हुँदैन । समय पाउँदा रेस्टुरेन्ट गएर सँगै डिनर भने गर्छन् । यो भ्यालेन्टाइन्स डेमा पनि कुनै राम्रो रेस्टुरेन्ट गएर डिनर खाने योजना छ, दुवैको ।