बैशाख ८, २०८१ शनिबार

भारतीय अभिनेत्रीमध्ये कट्रिनाको बिहेको लेहेङ्गा सबैभन्दा सस्तो, मूल्य २७ लाख, औंठी १२ लाखको



काठमाडौं । पछिल्लो केहीवर्षयता विवाह गरेका बलिउड अभिनेत्रीमध्ये कट्रिना कैफको विवाहको लेहेंगा सबैभन्दा सस्तो रहेको भारतीय मिडियाहरूले चर्चा गरेका छन् ।

नायक विक्की कौशलसँग राजस्थानमा विवाह गरी माल्दिभ्समा हनिमुन मनाएर मुम्बई फर्किसकेपछि उनको विवाहको पहिरन र खर्चबारे चर्चा शुरू भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार कट्रिनाले विवाहमा २७ लाखको लेहेङ्गा लगाइएकी थिइन् । उनले लगाएका थुप्रै गहनाका साथै एउटा औंठीको पनि चर्चा छ । टिफनी ब्राण्डको हीराको औंठीका लागि कट्रिनाले १२ लाख नेपाली रुपैयाँ खर्च गरेको समाचारमा जनाइएको छ ।

उसो त, कट्रिना भन्दा अगाडि बलिउडका चर्चित नायिकाहरुले गहना र पहिरनमा महँगो खर्च गरेका थिए । अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनको विवाहको पनि सर्वाधिक चर्चा भएको थियो । विवाहमा ऐश्वर्याले १ करोड २० लाखको साडी लगाएकी थिइन् भने उनले लगाएको गहना ५ करोड ६० लाखको रहेको बताइन्छ ।

यस्तै चार वर्षअघि अभिनेत्री अनुष्का शर्माले क्रिकेटर विराट कोहलीसँग विवाह गरिन् । उनले विवाहमा ७२ लाख रुपैयाँ सब्यासाची लेहेङ्गा लगाएकी थिइन् भने करिब ५ करोडको गहना लगाएकी थिइन् ।

प्रियंका चोपडाले सन् २०१८ मा गायक निक जोनससँग विवाह गरिन् । उनको विवाहमा करिब ५ करोड गहनामा नै खर्च भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

दीपिका पादुकोण र रणवीर सिंहले इटालीमा भव्य विवाह गरिन् । विवाह दीपिकाले सब्यसाचीको रातो लेहेङ्गा लगाएकी थिइन् । उनले २ करोड ५० लाखको गहना लगाएकी थिइन् । उनले लगाएको मंगलसूत्रको मूल्य ३६ लाख रुपैयाँ रहेको बताइन्छ ।