बैशाख १२, २०८१ बुधबार

नेपालका अभिनेता प्रदीपकाे भारतमा छुट्टै सान ‘सैफअली खानको बडीगार्ड’ लिएर हिँड्छन् प्रचारमा



काठमाडौँ : कुनै समय बडीगार्डले घेरिएर कार्यक्रममा जाँदा अभिनेता प्रदीप खड्का गसिपका पात्र बनेका थिए। यही विषयलाई लिएर उनी ट्रोलको सिकार पनि बने। पछि औपचारिक कार्यक्रमहरूमा उनी बडीगार्डबिना नै देखिन थालेका थिए।

अहिले उनै खड्का भारतमा छन् ‘प्रेमगीत-३’ को प्रमोसनका लागि। त्यहाँ उनी बडीगार्डको सुरक्षा घेरामा छन् त्यो पनि सैफ अलि खानको  सुरक्षामा खटिइका बडिगार्ड लिएर। भारतमा प्रमोशनकाक्रममा रहेका प्रदीप जहाँ जान्छन् उनलाई निजी सुरक्षा गार्डले सुरक्षा दिइरहेको देखिन्छ। उनलाई सुरक्षा दिन खटिएका एक बडीगार्ड सैफको सुरक्षामा समेत खटिएका निजी सुरक्षाकर्मी हुन्।

अहो सैफलाई सुरक्षा दिने बडीगार्डले प्रदीपलाई सुरक्षा दिएको भनेर चकितै परिहाल्नु भने पर्दैन। अपवादका केही घटना बाहेक नेपालमा सेलिब्रिटीहरु आफ्ना फ्यानबाट त्यति असुरक्षित देखिएका छैनन्। अझ विशेष गरी पुरुष सेलिब्रिटीहरु। उनीहरू जहाँ पुग्छन् त्यहाँ थेग्नै नसक्ने भिड पनि जम्मा भएको देखिँदैन।

त्यसैले नेपालमा वरिपरि बडीगार्ड लिएर हिँड्दा ओभर सोअप गरेको देखिनु सामान्य नै हो। महिला कलाकारको हकमा मिरुना मगरको घटनापछि भने निजी सुरक्षाकर्मी राख्दा राम्रै हुने देखियो।

भारतको हकमा भने अलि भिन्न प्रचलन देखिन्छ। त्यहाँका नयाँ कलाकार हुन् या जमिसकेका कलाकार हुन् उनीहरू सार्वजनिक कार्यक्रममा समेसम्म निजी सुरक्षाकर्मी नलिई जाँदैनन्।  अनि त्यता निजी सुरक्षाकर्मी लिन गाह्रो पनि छैन। दिनको २ हजारदेखि ३ हजार भारु तिर्ने हो भने निजी सुरक्षाकर्मी पाइहालिन्छ। त्यसैले अभिनेता प्रदीप भारतमा बडीगार्डसहित देखिनु छक्क पार्ने घटना भने हैन।

तर भारतमा जसरी ‘प्रेमगीत-३’ को प्रमोसन भइरहेको छ र जसरी भारतीय मिडियाले नेपाली कलाकार र नेपाली फिल्मबारे कभरेज गरिरहेका छन् त्यो भने छक्क पार्ने विषय नै हो। नेपाल र भारतमा एकै पटक फिल्म रिलिज हुनु पनि नेपाली फिल्मको बजार विस्तारका लागि महत्त्वपूर्ण पक्ष नै हो।

भटाभट हिन्दी फिल्महरू फ्लप भइरहेको अनि आमिर खानको अभिनय रहेको ‘लालसिंह चड्डा’ जस्तो फिल्मको समेत आलोचना भइरहेको अवस्थामा ‘प्रेमगीत ३’ भारतमा रिलिज हुनु सुखद हो। भारतीय दर्शकहरूको छनौट हेर्दा उनीहरू भिन्न कथा र परिवेशका फिल्मप्रति आकर्षित हुने गरेको देखिएको छ। यस्तोमा ‘प्रेमगीत ३’ ले बाजी मार्न पनि सक्छ।

भारतीय फिल्म बजारबारे जानकार जसरी ‘प्रेमगीत ३’ ले पुरै भारतीय फिल्म बजारमै प्रभाव पारिरहेझैँ चर्चा भएको छ त्यस्तो माहौल नभएको तर नेपालीहरूको बाक्लो बस्ती रहेको क्षेत्रमा रहेका हलहरूमा भने फिल्म चल्न सक्ने बताउँछन्। लामो समय भारतमा रहेर हिन्दी र दक्षिण भारतीय फिल्म निर्माण टिममा संलग्न नुवाकोटका राजेन्द्र घिमिरेले भने’ प्रेमगीत ३’ बारे भारतमा जति चर्चा भएको छ त्यो नेपाली फिल्म क्षेत्रका लागि राम्रो हो।

तर यसबाट अहिले नै धेरै आशावादी भइहाल्नुपर्ने अवस्था भने छैन। नेपालीहरूको सङ्ख्या बढी रहेको क्षेत्रको हलमा शो पायो भने फिल्म चल्न सक्छ। अहिले नै हिन्दी या साउथको फिल्म चलेका हलमै चल्न गाह्रो छ। तै पनि नेपाली भाषीमाझै हिन्दी भर्सनको नेपाली फिल्म चल्यो भने बजार विस्तारमा सहयोग त हुन्छ नै।’