बैशाख १२, २०८१ बुधबार

नवलपुरमा पल शाहको फैसला बहस जारी, छुट्लान् त आजै ?



काठमाडौं । नवलपुर जिल्ला अदालतमा नायक पल शाहको बलात्कारसम्बन्धी मुद्दा फैसला गर्न अहिले बहस भइरहेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा बहस भइरहेको हो ।

शाहको तर्फबाट ६/७ जना कानुन व्यवसायीले बहसका लागि वकालतनामा भरेका थिए । बिहानदेखि बहस सुरु भएको छ । इजलासले शाहविरुद्ध लागेको आरोप ठहर्ने वा नठहर्नेमध्ये एउटा फैसला गर्नेछ ।

एक नावालिग गायिकाले बलात्कारसम्बन्धी उजुर गरेपछि शाह मुद्दा पुर्पक्षका लागि थुनामा छन् । ती गायिकाले नवलपुर र तनहुँ गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुइटै जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् ।

शाहलाई न्यायाधीश आचार्यले सफाइ दिएको अवस्थामा पनि उनी मंगलबार नै नछुट्ने स्रोतको दाबी छ । तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेकाले उनी थुनामै रहनुपर्ने स्रोतले बतायो ।

नावालिग गायिकाले अदालतमा बयान फेरेकाले शाह पक्ष सफाइ पाउने आशामा छ ।