>

आश्विन १२, २०७९ बुधबार

माया गर्छु तर आफ्नो बनाउन चाहन्नँ!



‘म तिमीलाई अझै पनि माया गर्छु।’ मेरो हातमा उसको हात थियो अनि मेरो दिमागमा अनेक प्रश्न। त्यो प्रश्नको जवाफ पनि मेरै दिमागमा थियो। ती अनगिन्ती प्रश्नहरूलाई पन्छाउँदै उसको आँखामा हेरेँ। उसको आँखा सधैँ जस्तो नै थियो। गहिरो समुन्द्रजस्तै जसमा केही भवनाहरू तैरिरहेका थिए त केही भवनाहरू डुबिरहेका थिए।

‘के भयो?’ उसको प्रश्नको जवाफ मेरो मनले त दियो तर मुखबाट एक शब्द पनि निस्किएन। उसले मेरो शब्द कहिल्यै बुझेन। त्यही भएर आज म निःशब्द रहन चाहन्थें। आज पाँच वर्ष भइसकेको थियो उसले मलाई छोडेको। उसको लागि म पागल भएको। उसलाई सम्झेर रातदिन आँसु बगाएको। ऊबिना बाँच्न सक्दिनँ भनेर दुई चोटि आत्महत्याको कोसिस गरेको।

आफ्नो आत्मसम्मानलाई गिराएर उसको साथ र मायाको भिख मागेको। तर उसलाई केही फरक नै परेन। ऊ त गयो कोही अरुको साथमा। खुसी पनि रह्यो। मसँग गरेका वाचाहरू ऊसँग पनि गर्यो। ऊ त आफ्नो जिन्दगीमा अघि बढ्यो। सायद म मरेको भए पनि उसको मनमा कुनै घाउ लाग्ने थिएन होला। कसैको लासमाथि टेकेर उसले आफ्नो जिन्दगी जिएको छ, उसलाई आभास पनि हुने थिएन होला।

त्यो प्रेम त्यतिबेला कहाँ गयो? सोध्न मन थियो तर उसको मायाजस्तो उसको जवाफ सुन्ने इच्छा जागेन। ‘म तिमीलाई मन पराउदिनँ’ भन्दै उसको हातबाट आफ्नो हात झिकेँ र हिँडें। ऊ मलाई रोक्ने कोसिस गर्दै थियो तर म रोकिइनँ। मेरो आँखा पनि रोकिएन, खुलि त हाल्यो त्यो सपनाबाट। त्यो सपनालाई एक क्षण स्मरण गरेँ। मनले भन्यो ‘म तिमीलाई अझै मन पराउँछु तर तिमीलाई चाहन्नँ।’

मान्छेहरू भन्छन्, जुनसुकै गहिरो घाउ पनि समयसँगै पुरिँदै जन्छ। हुन त हो, जतिसुकै गहिरो घाउ पनि समयसँगै पुरिँदै जाँदो रहेछ तर त्यो घाउको दाग जिन्दगीभरि पुरिँदैन रहेछ। आज पाँच वर्ष भइसक्यो उसले मेरो जिन्दगीमा गहिरो घाउ दिएर गएको। घाउ त पुरियो तर दाग भने मेटाउन सकेको छैन। उसको अझै पनि याद आउँछ। मनको कुनै कुनाले अझै पनि उसलाई माया गर्छ।

अझै पनि सोच्छु, उसले आएर भनोस्- ‘म तिमीलाई अझै माया गर्छु।’ अनि म भन्न पाउँ- ‘म तिमीलाई माया गर्दिनँ’ भनेर तर ऊ त गइसक्यो। कोही अरुसँग। म मरेको बाँचेको उसलाई कुनै आभास नै छैन। एउटा निर्दोश मनलाई मारेको उसलाई कुनै ज्ञात ने छैन। घाउ भरिएर दाग रहे पनि म खुसी छु। उसलाई अझै पनि माया गर्छु। तर म ऊबिना खुसी छु। दिनको रुनुभन्दा कहिलेकाहीँ रुनु धेरै निको रहेछ।

त्यही भएर म खुसी छु। यादसँग भाग्ने कोसिस गर्नु भनेको घाउलाई कोट्याइरहनु जस्तो रहेछ। ऊ गइसक्यो। अब ऊ फर्केर आउँदैन। मेरो रुवाई, मेरो पीडाले उसलाई केही फरक पर्दैन भनेर स्वीकार नगर्नु घाउलाई कोट्याइरहनु जस्तो रहेछ।

कहिलेकाहीँ फेसबुकमा देख्छु केटीले छोडेर केटाले आत्महत्या गर्यो रे। केटाले छोडेर केटीले आत्महत्या गरी रे। त्यो पोस्ट देख्नेबित्तिकै म आफ्नो अतीतमा पुग्छु। आज ती मर्नेहरूको जसरी फोटो फेसबुकमा पोस्ट भयो, जसमा कसैले सहानुभूति दिइरहेका छन्, कसैले गाली गरिरहेका छन्। त्यसरी नै मेरो पनि फोटो फेसबुकमा पोस्ट हुन्थ्यो होला। त्यसरी नै गाली र सहानुभूति आउथ्यो होला।

जसको कारणले त्यो मान्छे मर्यो, त्यो व्यक्ति एक/दुई दिन चित्त दुखाउँथ्यो होला अनि फेरि खुसीसाथ आफ्नो जीवन बिताउँथ्यो होला कुनै पश्चाताप बिना। तर जीवनभरि पीडा र पश्चातापमा त मेरा बाआमा रहन्थे होला। मलाई म त्यो पीडाबाट बाहिर निस्किन्छु जस्तो लागेकै थिएन। मेरो जिन्दगी सकियो, यो पीडा सहनुभन्दा बरु मरेपछि आनन्द जस्तो लाग्थ्यो। सायद जो मरेर गए तिनीहरूलाई पनि यही भएको थियो होला।

जो मर्ने तरखर गर्दैछन् तिनीहरूलाई नि यही हुन्छ होला। तर म कति गलत रहेछु, अहिले पाँच वर्षपछि आएर बुझ्दै छु। केही समयको पीडालाई हेरेर मैले जिन्दगी भरिको खुसीलाई लात मार्थेँ। मेरो बाआमाको सम्मान र उनीहरूको माया र खुसीलाई लात मार्थेँ।

सही भन्छन् मान्छेहरू, हरेक रातपछि बिहान अवश्य आउँछ। मेरो घाउको दागले मलाई सधैँ यो सम्झाइरहन्छ कि मेरो जिन्दगी अमूल्य छ। मेरो खुसी मभित्र छ। मलाई जिन्दगीमा धेरै अघि बढ्नु छ। यदि जिन्दगीमा कुनै दिन फेरि कुनै नयाँ पीडासँग भेट भयो भने त्योसँग भाग्ने हैन, त्यसलाई स्वीकार गरेर त्योसँग लड्नु छ र अघिल्लो पीडासँग केही सिक सिके जसरी नै त्योसँग पनि सिक्नु छ।