>

मंसिर २२, २०७९ बिहीबार

दशक देखि उनको यात्राको साथी ह्विलचियर



तनहुँ — दशक पुग्यो, उनको यात्राको साथी भनेकै ह्विलचियर हो । व्यास–१० दुम्सीकोटकी ३२ वर्षीया कृष्णा थापाको २०६१ सालअघि दैनिकी अर्कै थियो । दुम्सिकोटस्थित भानु माध्यमिक विद्यालयमा कक्षा ८ को परीक्षापछि उनको दैनिकी फेरियो ।

‘एक दिन अचानक दाइने खुट्टा झमझमायो । खुट्टाले कुनै महसुस गर्न छाड्यो,’ कृष्णाले भनिन् । २२ दिनसम्म पनि कारण पत्ता नलागेको बरु अवस्था झनै बिग्रिँदै गयो । आफ्नै खुट्टाले टेकेर अस्पताल गएकी कृष्णा बुबाको काखमा घर फर्किइन् ।

पछि दुवै खुट्टाले काम गर्न छाडिसकेपछि उनी ३ महिनासम्म काठमाडौं गइन् । ‘यत्तिका समयमा पनि के कारणले खुट्टामा समस्या आयो भन्ने थाहा नभएपछि निराश भएँ,’ उनले भनिन्, ‘पटकपटक अस्पताल धाउँदा पनि समस्या पत्ता नलागेपछि डिप्रेसनमा पुगे । मर्छु भन्नेसम्म पुगेकी थिएँ ।’काठमाडौंबाट घर फर्किएपछि उनको अवस्था गम्भीर भयो ।

‘दुवै खुट्टा चल्दैनथ्यो । म बेडमै थन्किएर बस्नुपर्‍यो,’ उनले भनिन्, ‘त्यो समय घरपरिवार र गाउँले जम्मा भएर यो कतिखेर मर्ने हो कतिखेर फाल्ने हो भनेर बस्नुहुन्थ्यो ।’ २०६२ मै रिसेट तनहुँ नामक संस्थाले पोखराको हरियोखर्क अस्पताल लग्यो । उक्त समयमा कम्मरमुनिको भागको अपरेसन भयो ।

२०६२ चैतमा उनले मेरुदण्डको नसा च्यापिएको कारण खुट्टा नचलेको खुल्यो । त्यसपछिको कृष्णाको दिनचर्या बेडमै बित्न थाल्यो । अरुको सहारामा बाँच्नुपर्दा आफैंलाई देखेर दिक्क लाग्ने गरेको बताउँछिन् । ८ वर्ष घरपरिवारकै स्याहारसुसारमा बसेको उनले बताइन् । त्यो ८ वर्षको समयमा आफैंलाई मार्ने कैयौं प्रयास गरेको उनले सुनाइन् ।

२०६९ फागुनमा काठमाडौं लगेर जोर्नीको ३ वटा अपरेसन भयो । त्यसपछि भने उनी बिस्तारै ह्विलचियरमा बस्न थालिन् । ३/४ महिना ह्विलचियरमा अडिएर बस्न र चलाउन सिक्नमै लाग्यो । पढाइमा रुचि रहेका कारण ८ वर्ष ओछ्यानमै हुँदा पनि उनले विभिन्न पुस्तक पढ्ने र रेडियो सुन्ने गर्थिन् ।

ह्विलचियर चलाउन सिकेलगत्तै कक्षा ९ मा भर्ना भइन् र २०७० मा एसएलसी उत्तीर्ण गरिन् । घरपरिवारको साथ नहुँदा पनि उनी दमौली झरेर पढ्ने संघर्ष गरिन् । तर उनको शैक्षिक यात्रा सहज थिएन । प्लस टु अध्ययनका लागि सत्यवती माध्यमिक विद्यालयमा तेस्रो पटक पूरा शुल्क तिर्ने सर्त गरी भर्ना भइन् ।

स्नातक तहको पढाइका लागि पृथ्वीनारायण क्याम्पस पोखरा पुगेकी कृष्णालाई क्याम्पसले सजिलै भर्ना लिएन । घरबाट विद्रोह गरेर पढ्न हिँडेकी कृष्णाले क्याम्पसका शिक्षक र साथीबाट त्यति सहयोग नपाएको सुनाइन् । त्यहाँका भौतिक संरचना अपांगतामैत्री नभएको कारण पनि केही समय कक्षाकोठा बाहिरै बसेर पढेको उनले बताइन् ।

कक्षाकोठामै बसेर पढ्ने वातावरण मिलाइदिन क्याम्पस प्रांगणमा एकल धर्नामा बसिन् । नदीपुरमा बस्ने उनलाई बगरको क्याम्पसमा आउन पनि निकै संघर्ष गर्नुपर्दथ्यो । समस्या झेल्दै ह्विलचियरमा कृष्णाले स्नातक उत्तीर्ण गरिन् । अहिले उनी व्यास नगरपालिकाको सहायक चौथो स्तरको कर्मचारीको रूपमा पुस्तकालयमा काम गर्छिन् ।

‘पढ्छु, केही गर्छु भन्दा आमाबुबाले विश्वास नगरेर साथ नदिँदा विद्रोह गरेर हिँडेकी थिएँ’, उनले भनिन्, ‘अहिले मेरो पढाइकै कारणले यो ठाउँसम्म आएकी छु, टेक्ने खुट्टा नभए पनि आफ्नै संघर्षका कारण अहिले आफ्नै खुट्टामा उभिएकी छु । पटक–पटक आफूलाई प्रमाणित गरेर आज आर्थिक रूपमा घरपरिवारलाई पनि सहयोग गर्ने हैसियात बनाएकी छु । अब ढिलोचाँडो मास्टर्स गर्ने इच्छा छ ।’