बैशाख १, २०८१ शनिबार

फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाउने नेपाली महिला ह्याकरलाई ३ लाख इनाम




चर्चित सामाजिक सञ्जाल फेसबुकको बग (सुरक्षा कमजोरी) पत्ता लगाएएर २४ वर्षीया नेपाली महिला ह्याकरले इनाम पाएकी छन् ।

काठमाडौंकी २४ वर्षीया प्रभा बस्नेतले फेसबुक र इन्स्टाग्रामसँग सम्बन्धित बग पत्ता लगाएर रिवार्ड स्वरूप तीन हजार डलर (तीन लाख ५३ हजार रूपैयाँ) रकम प्राप्त गरेकी हुन् ।

इन्स्टाग्रामको स्टोरीमा अपलोड गरेको फोटो फेसबुकमा पनि सेयर भएको पत्ता लगाउँदै उनले रिपोर्ट गरेपछि फेसबुकले बगलाई निश्चित गरेर प्रभालाई एक हजार डलर रिवार्ड दिएको छ ।

‘इन्स्टाग्राममा स्टोरी राख्ने प्रयोगकर्ताको नचहाँदा नचाहँदै फेसबुक अकाउन्टमा पनि फोटो लिक हुने भएपछि मैले रिपोर्ट हालेकी थिएँ,’ उनले भनिन्, ‘इन्स्टाग्राम र फेसबुक अकाउन्ट एकअर्कामा लिंक भएको अवस्थामा अनिच्छा हुँदासमेत फोटो दुवै सोसल मिडियामा शेयर हुँदा गोपनीयतामा असर पर्ने देखिन्छ ।’

त्यसैगरी प्रभाले इन्स्टाग्राम र फेसबुक अकाउन्ट एक अर्कामा लिंक्ड नगर्दा वा डिसेबल गर्दा समेत फेसबुकको डिटेलबाटै इन्स्टाग्राम अकाउन्ट खुलेको भन्दै रिपोर्ट गरेकी थिइन् । त्यो बग पनि फेसबुकले समाधान गरी प्रभालाई २ हजार डलर बग बाउन्टी अमाउन्ट प्रदान गरेको छ ।

उनले फेसबुकको पासवर्डबाट इन्स्टाग्राम लगईन नहुने बनाएको भएपनि पनि फेसबुकबाटै इन्स्टाग्राम लगईन भइरहेको कारण ह्याकरले फेसबुक ह्याक गर्दा स्वतः इन्स्टाग्राम पनि ह्याक गर्ने जोखिम भएकाले रिपोर्ट गरेको बताइन् ।

अहिले धेरै जनाको फेसबुक ह्याक भइरहेको र ह्याकरले फेसबुक ह्याक गर्दा इन्स्टाग्राम पनि अटोमेटिक ह्याक गर्न सक्ने भएकोले यो गम्भिर सुरक्षा कमजोरी भएकोले फेसबुकले आफूलाई रिवार्ड दिएको उनको भनाई छ ।

केही दिनअघिसम्म आफ्नो वास्तविक परिचय लुकाइ ‘बग बाउन्टी’मा लागिरहेकी भएपनि बग बाउन्टी हात पारेसँगै वास्तविक परिचय खुलाएको उनले बताईन् ।

‘महिला कोही नहुँदा कतिपय ग्रुपहरूमा वास्तविक परिचय लुकाएर सिक्ने र अन्तर्क्रिया गरेकी थिएँ,’ उनले भनिन्, ‘हिजो बग बाउन्टी हात पारेसँगै आफन्त, साथीहरु सबैले हौसला दिइरहनु भएको छ र वास्तविक परिचय खुलाएकी छु ।’

उनी फेसबुक ह्वाइटह्याट थ्याङस पेजमा सूचिकृत हुने संभवत पहिलो नेपाली महिला ह्याकर हुन् ।